Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

सपन्याह 1

आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:

याहवेहको दिनमा सारा पृथ्वीको न्याय

“म पृथ्वीको सतहबाट

सबै थोक नाश गर्नेछु,”

याहवेह घोषणा गर्नुहुन्छ।

“म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु;

म आकाशका पक्षीहरू

र समुद्रका माछाहरूलाई नाश गर्नेछु।

दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।”1

“अनि म सबै मानव-जातिलाई

पृथ्वीको सतहबाट मेटिदिनेछु,”

याहवेह घोषणा गर्नुहुन्छ।

“म यहूदाको विरुद्धमा

र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु।

यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई,

र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;

तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि

आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू,

दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू

र मोलेख2 देवताको नाममा पनि शपथ खानेहरू,

याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू;

अनि याहवेहको खोजी नगर्नेहरू,

र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।”

प्रभु याहवेहको सामु चुपचाप बस;

किनकि याहवेहको दिन नजिकै छ।

याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ;

अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।

“याहवेहको बलिदानको दिन,

म अगुवाहरू

र राजाका छोराहरू;

अनि विदेशी कपडा लगाउनेहरू

सबैलाई दण्ड दिनेछु।

त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू,

आफ्ना देवताहरूका मन्दिरलाई हिंसा

र छलले भर्नेहरू सबैलाई

म दण्ड दिनेछु।

“त्यस दिन”

याहवेह भन्‍नुहुन्छ,

“माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ;

सहरका नयाँ टोलबाट विलाप

र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।

तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर;

तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्,

चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।

त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु,

र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू,

जो मद्यका थिग्राजस्तै छन्,

जसले, ‘याहवेहले न असल, न त खराब नै

गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु।

तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्,

तिनीहरूका घरहरू भत्काइनेछन्।

तिनीहरूले घर बनाउनेछन्,

तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्;

तिनीहरूले दाखबारी लगाउनेछन्,

तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”

याहवेहको महान् दिन नजिकै छ—

त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।

याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;

त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।

त्यो दिन क्रोधको दिन हुनेछ—

सङ्कष्‍ट र वेदनाको दिन,

कष्‍ट र सर्वनाशको दिन,

अन्धकार र निराशाको दिन,

बादल र घोर अन्धकारको दिन।

सुरक्षित किल्‍ला भएका सहरहरूका विरुद्धमा

र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा

तुरही र लडाइँको आवाज सुनिने दिन।

“म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु,

कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;

किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।

तिनीहरूको रगत धुलोझैँ

र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।

तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,

न त तिनीहरूका सुनले,

न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।”

उहाँको डाहको आगोमा

सारा संसार भस्म पारिनेछ;

किनकि यस पृथ्वीमा बसोबास गर्ने

सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।

Source notes (2)
  1. Footnote मूल भाषामा यो पङ्‌क्तिको अर्थ निश्‍चित छैन।
  2. Footnote मोलेख जसको अर्को नाम हो मल्काम

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.