Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

जकरिया 12

यरूशलेमका शत्रुहरू नष्‍ट हुनेछन्

एउटा अगमवाणी: इस्राएलको बारेमा याहवेहको वचन।

याहवेह, जसले आकाशलाई फैलाउनुभयो, पृथ्वीको जग बसाल्नुभयो; अनि मानिसभित्र त्यसको आत्मा रच्नुभयो, उहाँ घोषणा गर्नुहुन्छ: “म यरूशलेमलाई यस्तो कचौरा बनाइदिनेछु, कि जसबाट पिएर त्यसका चारैतिरका मानिसहरू धरमराउनेछन्। अनि यहूदा र यरूशलेम घेरामा पर्नेछन्। त्यस दिन जब पृथ्वीका सारा राष्ट्रहरू त्यसको विरुद्धमा भेला हुन्छन्, म यरूशलेमलाई सबै राष्ट्रहरूका निम्ति एउटा नहल्‍लिने चट्टान बनाइदिनेछु। त्यसलाई हटाउन खोज्नेहरू आफैँ घाइते हुनेछन्। त्यस दिन म प्रत्येक घोडालाई त्रसित पार्नेछु र त्यसमाथि सवार हुनेलाई पागलपनाले प्रहार गर्नेछु,” याहवेह घोषणा गर्नुहुन्छ। “म यहूदाको घरानामाथि दृष्‍टि लगाइराख्नेछु, तर म राष्ट्रहरूका सबै घोडाहरूलाई अन्धा तुल्याइदिनेछु। तब यहूदाका अगुवाहरूले आफ्ना हृदयमा भन्‍नेछन्, ‘यरूशलेमका मानिसहरू बलिया छन्; किनकि सेनाहरूका याहवेह तिनीहरूका परमेश्‍वर हुनुहुन्छ।’

“त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको थुप्रोमा भएको आगोको मकलझैँ र अन्‍नको बिटाहरूको बीचमा दन्केको आगोको राँकोझैँ बनाउनेछु। तिनीहरूले दायाँपट्टि र बायाँपट्टि चारैतिर भएका सबै मानिसहरूलाई भस्म पार्नेछन्, तर यरूशलेमचाहिँ आफ्नो स्थानमा सुरक्षित रहनेछ।

“याहवेहले यहूदाका पालहरूको उद्धार पहिले गर्नुहुनेछ, ताकि दावीदको घरानाको सम्मान र यरूशलेमका मानिसहरूको सम्मान यहूदाका मानिसहरूको सम्मानभन्दा बढी नहोस्। त्यस दिन याहवेह यरूशलेममा बस्‍नेहरूको ढाल हुनुहुनेछ, र तिनीहरूमध्ये अति दुर्बल दावीदझैँ र दावीदको घरानाचाहिँ परमेश्‍वरझैँ, अर्थात् तिनीहरूका अगि-अगि जाने याहवेहका स्वर्गदूतझैँ हुनेछ। त्यस दिन म यरूशलेमलाई आक्रमण गर्ने सबै राष्ट्रहरूलाई नाश गर्नलाई निस्कनेछु।

तिनीहरूले घोचेका व्यक्तिको निम्ति शोक

“अनि म दावीदको घराना र यरूशलेमका बासिन्दाहरूमाथि अनुग्रह र प्रार्थनाको आत्मा खन्याइदिनेछु। तिनीहरूले मलाई हेर्नेछन्, जसलाई तिनीहरूले घोचेका थिए; अनि कसैले आफ्नो एउटै मात्र बालकको निम्ति बिलौना गरेझैँ, तिनको निम्ति बिलौना गर्नेछन्; अनि कसैले आफ्नो पहिले जन्मेको जेठा छोराको निम्ति अति शोक गरेझैँ तिनीहरूले तिनको निम्ति शोक गर्नेछन्। त्यस दिन यरूशलेममा हुने रुवाबासी मगिद्दोको मैदानमा हदद-रिम्मोनको जस्तै ठूलो हुनेछ। देशभरि प्रत्येक घरानाले शोक गर्नेछ। तिनीहरूका पत्नीहरूसहित परिवारले अलग-अलग शोक गर्नेछन्। दावीदका घरानाहरू र तिनीहरूका पत्नीहरू, नातानका घरानाहरू र तिनीहरूका पत्नीहरू, लेवीका घरानाहरू र तिनीहरूका पत्नीहरू, शिमीका घरानाहरू र तिनीहरूका पत्नीहरू, अनि बाँकी रहेका सबै घराना र तिनीहरूका पत्नीहरूले अलग-अलग शोक गर्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.