Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

जकरिया 11

हे लेबनान, तेरा ढोकाहरू खोलिदे,

ताकि तेरा देवदारुका रूखहरू आगोले भस्म पारोस्!

हे धूपी सल्‍ला, विलाप गर्; किनकि देवदारु नष्‍ट भएको छ;

सानदार रूखहरू नष्‍ट भएका छन्!

बाशानका फलाँटका रूखहरू विलाप गर;

घना जङ्गल काटेर ढालिएको छ!

गोठालाहरूको विलाप सुन;

तिनीहरूका हरिया खर्कहरू नष्‍ट भएका छन्!

सिंहहरूका गर्जन सुन;

यर्दनको बाक्लो घारी नष्‍ट भएको छ!

दुई गोठालाहरू

याहवेह मेरो परमेश्‍वरले यसो भन्‍नुहुन्छ: “मारिनका निम्ति चिन्ह लगाइएको बगाललाई गोठालो गर। तिनीहरूलाई किन्‍नेहरूले तिनीहरूलाई मार्छन्, र तिनीहरूले दण्ड पाउँदैनन्। तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘याहवेहको प्रशंसा होस्, म धनी छु!’ तिनीहरूका आफ्नै गोठालाहरूले पनि तिनीहरूलाई दया देखाउँदैनन्। त्यसरी नै अब उसो म यस देशका मानिसहरूमाथि दया देखाउनेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ। “म हरेक मानिसलाई तिनीहरूका छिमेकीहरू र तिनीहरूको राजाको हातमा सुम्पिदिनेछु। तिनीहरूले देशमाथि अत्याचार गर्नेछन्, तर म तिनीहरूलाई उनीहरूका हातबाट छुटाउनेछैनँ।”

यसकारण काटिनका निम्ति चिन्ह लगाइएको बगाललाई, विशेष गरी अत्याचारमा परेको बगाललाई मैले गोठालो गरेँ। तब मैले दुई वटा लहुरो लिएँ; अनि एउटालाई अनुग्रह र अर्कोलाई एकता नाम दिएँ, र मैले बगाललाई चराएँ। एक महिनामा मैले तीन जना गोठालाहरूलाई निकालिदिएँ।

त्यो बगालले मलाई घृणा गर्‍यो, र म पनि तिनीहरूसँग वाक्‍क भएँ, अनि मैले भनेँ, “म तिमीहरूका गोठाला हुनेछैनँ। मर्नेहरू मरून् र नाश हुनेहरू नाश होऊन्। जो बाँकी रहेका छन्, तिनीहरूले एक-अर्काका मासु खाऊन्।”

तब मैले अनुग्रह नामको लहुरो लिएँ, र त्यसलाई भाँचिदिएँ र मैले सबै जातिहरूसित गरेको करार रद्द गरिदिएँ। त्यस दिन त्यो रद्द गरियो, र बगालका अत्याचारमा परेकाहरू, जसले मलाई हेरिराखेका थिए; तिनीहरूले यो याहवेहको वचन रहेछ भनी थाहा गरे।

मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो उचित लाग्यो भने मेरो ज्याला मलाई देऊ; तर उचित लागेन भने आफैँ राख।” यसकारण तिनीहरूले मलाई तीस टुक्रा चाँदी दिए।

अनि याहवेहले मलाई भन्‍नुभयो, “यस चाँदीलाई कुमालेको अगि फालिदे,” अर्थात् तिनीहरूले मेरो कदर गरेर दिएको बहुमूल्य ज्याला! यसकारण मैले त्यो तीस टुक्रा चाँदी लिएँ, र ती याहवेहको भवनभित्र भएका कुमालेकहाँ फालिदिएँ।

त्यसपछि यहूदा र इस्राएल बीचको पारिवारिक सम्बन्धलाई तोडिदिन, मैले एकता नाम भएको अर्को लहुरो पनि भाँचिदिएँ।

तब याहवेहले मलाई भन्‍नुभयो, “एउटा मूर्ख गोठालोका सामानहरू फेरि ली। किनकि म देशमाथि एउटा गोठालो खडा गर्न लागेको छु, जसले हराएकालाई वास्ता गर्दैन, न त सानाहरूलाई खोज्छ, न त चोट लागेकाहरूलाई निको पार्छ, न त स्वस्थलाई खुवाउँछ; तर असल भेडाहरूलाई तिनीहरूको खुर च्यात्दै तिनीहरूको मासु खानेछ।

“धिक्‍कार त्यो काम नलाग्ने गोठालालाई,

जसले बगाललाई छोडिदिन्छ!

तरवारले त्यसको हात र दाहिने आँखामा प्रहार गरोस्!

त्यसको पाखुरा पूर्ण रूपले सुकेर जाओस्;

अनि त्यसको दाहिने आँखा पूर्ण रूपले अन्धो भइजाओस्!”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.