Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

तीतस 3

जे असल छ, त्यही नै गर्नू

शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्।

कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ। तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो, तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो। यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।

तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ।

अन्तिम सल्‍लाह

जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निर्णय गरेको छु। कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्।

जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्।

मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्।

हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ।

तिमीहरू सबैसँग अनुग्रह रहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.