Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

श्रेष्‍ठगीत 8

यदि तपाईं मेरी आमाको दूध खाएर हुर्केको,

मेरा दाजुभाइझैँ हुनुहुँदो हो त!

तपाईंलाई बाहिर भेट्दा

म म्वाइँ खानेथिएँ,

र कसैले मेरो निन्दा गर्ने थिएन।

तपाईंलाई डोर्‍याएर

म मेरी आमाको घरमा ल्याउनेथिएँ—

जुन आमाले मलाई शिक्षा दिएकी छन्।

म तपाईंलाई मसाला मिसाएको दाखमद्य,

मेरा अनारका रस पिउन दिनेथिएँ।

उहाँको देब्रे हात मेरो शिरमुनि छ,

र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।

हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई शपथ खुवाएर आज्ञा गर्छु:

उचित समय नभएसम्म

प्रेमलाई नजगाओ अथवा नबिउँझाओ।

मित्रहरू

आफ्ना प्रेमीसित अडेसिएर

उजाडस्थानबाट आउँदैगरेका यिनी को हुन्?

प्रेमिका

स्याउको रूखमुनि मैले तपाईंलाई जगाएँ;

त्यहीँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गरेकी थिइन्;

त्यहीँ नै तिनले सुत्केरी व्यथा लागेर तपाईंलाई जन्म दिएकी थिइन्।

मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,

तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्;

किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ;

यसको तिर्सना चिहानझैँ कठोर हुन्छ।

यो दन्कने आगोसमान दन्कन्छ,

यो शक्तिशाली ज्वाला1 जस्तै हुन्छ।

उर्लेको पानीले पनि प्रेमलाई निभाउन सक्दैन;

नदीले पनि त्यसलाई बगाउन सक्दैन।

यदि मानिसले प्रेमको निम्ति

आफ्नो घरको सारा धनसम्पत्ति दिइहाले तापनि

यो2 पूर्ण अवहेलना हुनेछ।

मित्रहरू

हाम्री एउटी जवान बहिनी छिन्,

जसका छाती उठेका छैनन्।

उनको विवाहको लागि कोही माग्न आएको दिनमा,

आफ्नी बहिनीको लागि हामी के गरौँ?

यदि ऊ पर्खाल भए त,

हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ।

यदि ऊ ढोका हुँदो हो त,

हामी देवदारुका फल्याकले बारेर बन्द गर्ने थियौँ।

प्रेमिका

म एक पर्खाल हुँ,

र मेरा स्तनहरू धरहराहरूजस्तै छन्।

यसरी उहाँका नजरमा म

सन्तुष्‍टि तुल्याउने ठहरिएकी छु।

बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो;

आफ्नो दाखबारी मोहीहरूलाई दिए।

हरेकले दाखबारीका फलको सट्टामा

हजार सेकेल3 चाँदी ल्याउनुपर्थ्यो।

तर मेरो दाखबारी, जो मेरै अधिकार हो;

हे सोलोमन, ती हजार सेकेल तपाईंकै निम्ति हुन्,

र दुई सय ती फलफूल रेखदेख गर्नेहरूका निम्ति हुन्।

प्रेमी

तिमी, जो दाखबारीमा

आफ्ना मित्रहरूका साथमा बास गर्दछौ,

तिम्रो सोरलाई सुन्‍न देऊ!

प्रेमिका

हे मेरा प्रेमी, बाहिर आउनुहोस्,

र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा

हुने हरिणजस्तै अथवा

जवान मृगजस्तै हुनुहोस्!

Source notes (3)
  1. Footnote अथवा याहवेको ज्वालाजस्तै
  2. Footnote अथवा उसको
  3. Footnote लगभग 12 किलो

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.