Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

रोमी 1

म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ, जुन सुसमाचार परमेश्‍वरले पहिले नै उहाँका अगमवक्ताहरूद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो। उहाँ येशू ख्रीष्‍ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्‍वरका पुत्र नियुक्त हुनुभयो। उहाँको नामको खातिर विश्‍वासबाट आउने आज्ञाकारिताको निम्ति, सबै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनका लागि हामीले उहाँद्वारा अनुग्रह र प्रेरितीय काम पाएका छौँ। अनि तिमीहरू पनि येशू ख्रीष्‍टका आफ्नै हुनलाई बोलाइएका मध्येका हौ।

रोममा भएका सबैलाई, जो परमेश्‍वरका प्रिय र पवित्र जन हुनलाई बोलाइएका छन्:

हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

रोममा जानलाई पावलको उत्कट इच्छा

सर्वप्रथम, म मेरा परमेश्‍वरलाई येशू ख्रीष्‍टद्वारा तिमीहरू सबैका निम्ति धन्यवाद चढाउँछु। किनकि तिमीहरूका विश्‍वासका कुराहरू सारा संसारमा प्रचार भइरहेको छ। परमेश्‍वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु र मेरा हरेक प्रार्थनामा माग्दछु, कि अन्त्यमा परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आउनमा सफलता प्राप्‍त गर्न सकूँ।

किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ अनि तिमीहरू र म एक-अर्काका विश्‍वासले प्रोत्साहित हुन सकौँ। दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरू अजान रहो भन्‍ने चाहन्‍नँ। गैरयहूदीहरूका बीचमा मैले आत्मिकी फल बटुलेझैँ तिमीहरूका बीचबाट पनि आत्मिकी फल पाउन सकूँ भनेर तिमीहरूकहाँ आउनलाई मैले धेरैपल्ट योजना बनाएँ, तर अहिलेसम्म यसो गर्नबाट रोकिएको छु।

सभ्य होस् वा असभ्य1 होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु। त्यसैले रोममा बस्‍ने तिमीहरू सबैलाई सुसमाचार प्रचार गर्न म उत्सुक छु।

किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्‍वरको शक्ति हो, जसले विश्‍वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई। किनकि सुसमाचारमा परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, जुन धार्मिकता सुरुदेखि अन्त्यसम्म विश्‍वासद्वारा नै आउँछ। धर्मशास्त्रमा यसरी लेखिएको छ: “धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”2

पापी मानिस जाति विरुद्ध परमेश्‍वरको क्रोध

स्वर्गबाट परमेश्‍वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्‍टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्‍टताद्वारा दबाइराखेका छन्। परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा उनीहरूको अगि प्रष्‍ट छ। किनभने परमेश्‍वरले नै यो कुरा उनीहरूलाई प्रष्‍ट पारिदिनुभएको छ। किनकि परमेश्‍वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्‍वरीय स्वभाव संसारको सृष्‍टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्‍वरको विषयमा जान्‍न नसकिने भन्‍ने कुनै किसिमको बहाना छैन।

तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि उहाँलाई परमेश्‍वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए। तिनीहरूले आफू बुद्धिमान् छौँ भन्‍ने दाबी गरे तापनि मूर्ख नै बने। अविनाशी परमेश्‍वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए।

यसकारण परमेश्‍वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। तिनीहरूले परमेश्‍वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्‍टिकर्ताको सट्टामा, सृष्‍टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्‍टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन!

यसैकारण परमेश्‍वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे।

यसरी तिनीहरूले परमेश्‍वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्‍वरले पनि तिनीहरूलाई भ्रष्‍ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्। तिनीहरू हरेक प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, निन्दा गर्ने, परमेश्‍वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्‍ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्। तिनीहरू निर्बुद्धि, विश्‍वासघाती, निर्दयी र क्रूर हुन्छन्। यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्‍ने परमेश्‍वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।

Source notes (2)
  1. Footnote मूल भाषामा ग्रीक र बारबरियन
  2. Footnote हब 2:4

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.