Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
प्रकाश 10
स्वर्गदूत र सानो चर्मपत्र
तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए। तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए। अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले। अनि जब सात वटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनेँ, “सात वटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।”
तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्नुभयो, “अब ढिलो हुनेछैन! तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।”
तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्र लेऊ।”
यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।”1 मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएर त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैँ गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो। तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”
Source notes (1)
- Footnote इज 3:3
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.