Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
प्रकाश 1
प्रस्तावना
येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँडै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्ना दूत पठाएर यो आफ्नो सेवक यूहन्नालाई प्रकट गर्नुभयो; तिनैले परमेश्वरको वचनको लागि र येशू ख्रीष्टको गवाहीको लागि आफूले देखेका सबै थोकहरूको विवरण दिए। जसले यस अगमवाणीका वचनहरू ठूलो सोरमा पढेर सुनाउँछ, त्यो धन्यको हो; अनि यसलाई सुन्नेहरू र यसमा लेखिएका कुराहरू पालन गर्नेहरू धन्यका हुन्; किनकि समय नजिकै छ।
अभिवादन र स्तुति-प्रशंसा
यूहन्नाबाट,
एशिया1 प्रान्तमा भएका सात वटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु:
उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुनआउनुहुनेछ, र उहाँको सिंहासनको अगि भएका सात आत्माहरूबाट; अनि येशू ख्रीष्टबाट, जो विश्वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका2 र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ।
उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले नै आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; अनि उहाँका परमेश्वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
“हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”;3
अनि “हरेक आँखाले उहाँलाई देख्नेछ,
तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए”
अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।”4
यस्तै होस्! आमेन।
सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म नै अल्फा र ओमेगा5 हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।
ख्रीष्टको बारेमा यूहन्नाको दर्शन
म यूहन्ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ। प्रभुको दिनमा म आत्मामा थिएँ, र मेरो पछिल्तिर मैले तुरहीको जस्तै एउटा चर्को आवाज सुनेँ, जसले यसो भन्यो: “तिमी जे देख्छौ, त्यो एउटा पुस्तकमा लेख, र त्यसलाई सातै वटा मण्डलीहरू अर्थात्, एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियामा पठाऊ।”
अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक र छातीमा सुनौलो चौडा पेटी लाउनुभएको “मानिसको पुत्रजस्तै,”6 एक जनालाई देखेँ। उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए। उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो।
जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
“यसकारण तिमीले जे देखेका छौ, अहिले जे छ, र यसपछि के हुनेछ, सो लेख। तिमीले मेरो दाहिने हातमा देखेका सात वटा ताराहरू र सात वटा सुनका सामदानहरूको रहस्य यो हो: सात वटा ताराहरू सात मण्डलीका दूतहरू7 हुन्, र सात वटा सामदानहरू सात मण्डलीहरू हुन्।”
Source notes (7)
- Footnote एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन हाल आधुनिक टर्कीको पश्चिमी भागमा अवस्थित थियो।
- Footnote जीवित हुनुभएका मूल भाषामा जन्मनु
- Footnote दानि 7:13
- Footnote जक 12:10
- Footnote यी ग्रीक भाषाका पहिलो र अन्तिम अक्षर हुन्, जसको अर्थ सुरु र अन्त्य हुन्छ।
- Footnote दानि 7:13
- Footnote अथवा सन्देश वाहकहरू
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.