Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 88

एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति—महलत लिन्‍नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल।

हे याहवेह, तपाईं नै त्यो परमेश्‍वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ;

दिनरात म तपाईंलाई पुकार्दछु।

मेरो प्रार्थना तपाईंको सामु पुगोस्;

मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!

किनकि मेरो प्राण पीडाले भरिएको छ

र मेरो जीवन चिहानको नजिकै पुगेको छ।

चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ;

म शक्तिविहीन मानिसझैँ भएको छु।

म मरेकाहरूसितै छुट्ट्याइएको छु,

मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्,

जसलाई तपाईं कहिल्यै सम्झनुहुन्‍न;

जो तपाईंको वास्ताबाट त्यागिएका छन्।

तपाईंले मलाई चिहानको तल्‍लो भागमा,

अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।

तपाईंको क्रोधले मलाई दबाएर राखेको छ;

तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला

मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ;

तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ।

म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;

शोकले मेरा आँखाहरू धमिला हुन्छन्।

हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु;

म मेरा हात तपाईंतिर पसार्दछु।

के मृतकहरूलाई तपाईं आफ्ना अद्‌भुत कार्यहरू देखाउनुहुन्छ?

के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला

के तपाईंको अचुक प्रेम चिहानमा,

तपाईंको विश्‍वसताको मृत-लोकमा1 घोषणा गरिन्छ?

के तपाईंको अद्‌भुत कार्यहरू अन्धकारको स्थानमा,

अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?

हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु;

बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।

हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ?

अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?

मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु;

तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।

तपाईंको क्रोध ममाथि खनिएको छ;

तपाईंका त्रासहरूले मलाई नष्‍ट पारेका छन्।

तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्;

तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।

तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ—

अन्धकार मेरो नजिकको मित्र बनेको छ।

Source notes (1)
  1. Footnote मूल भाषामा अबाडोन

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.