Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 86

सङ्कष्‍टमा दावीदको प्रार्थना।

हे याहवेह, मेरो प्रार्थना सुन्‍नुहोस्, र मलाई जवाफ दिनुहोस्;

किनकि म असहाय र अभावग्रस्त छु।

मेरो रक्षा गरिदिनुहोस्; किनकि म तपाईंको भक्त हुँ;

तपाईंको सेवकलाई बचाउनुहोस्, जसले तपाईंमा भरोसा गर्दछ।

तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ; हे प्रभु, ममाथि दयालु हुनुहोस्;

किनकि म दिनभरि तपाईंलाई पुकार गर्दछु।

आफ्नो सेवकलाई हर्षित पार्नुहोस्;

किनकि प्रभु, म मेरो भरोसा तपाईंमा राख्दछु।

हे प्रभु, तपाईं भलो र क्षमाशील हुनुहुन्छ;

तपाईंलाई पुकार्ने सबैलाई तपाईंको अचुक प्रेम प्रशस्त रहन्छ।

हे याहवेह, मेरो प्रार्थना सुनिदिनुहोस्;

दयाको निम्ति मेरो पुकारमा ध्यान दिनुहोस्!

जब म सङ्कष्‍टमा हुन्छु, म तपाईंलाई पुकार गर्नेछु;

किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ।

हे प्रभु! तपाईंजस्तो अरू कोही ईश्‍वरहरू छैनन्;

तपाईंका कार्यहरू अरू कुनै ईश्‍वरसँग तुलना गर्न सकिँदैन।

हे प्रभु, तपाईंले बनाउनुभएका सबै राष्ट्रहरू

तपाईंको सामु आएर दण्डवत् गर्नेछन्;

तिनीहरूले तपाईंको नामको महिमा गर्नेछन्।

किनकि तपाईं महान् हुनुहुन्छ, र अचम्मका कामहरू गर्नुहुन्छ;

तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ।

हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्;

ताकि म तपाईंको विश्‍वासयोग्यतामा भर पर्न सकूँ;

मलाई एकाग्र मन दिनुहोस्,

र म तपाईंको नामको भय मान्‍न सकूँ।

हे प्रभु, मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु;

म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु।

किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ;

तपाईंले मेरो जीवनलाई

पातालको गहिराइबाट छुटाउनुभएको छ।

हे परमेश्‍वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्;

निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्—

ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्।

तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्‍वर हुनुहुन्छ;

रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ।

मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्;

आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्,

र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्!

किनकि म तपाईंको सेवा गर्दछु।

तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्;

र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्;

किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.