Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 85

सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन।

हे याहवेह, तपाईंको देशमाथि तपाईंले कृपा राख्नुभएको छ;

तपाईंले याकोबको सुख-शान्ति पुनर्स्थापित गरिदिनुभएको छ।

तपाईंले आफ्ना प्रजाको अधर्म क्षमा गर्नुभएको छ;

तिनीहरूका सबै पाप ढाकिदिनुभएको छ। सेला

तपाईंले आफ्ना सबै क्रोध पन्छाउनुभयो;

र आफ्नो दन्किँदो क्रोधबाट तपाईं फर्कनुभयो।

हे हाम्रा मुक्तिदाता परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस्,

र हामीप्रतिको तपाईंको अप्रसन्‍नता हटाइदिनुहोस्!

के तपाईं हामीसित सधैँ रिसाइरहनुहुनेछ?

के तपाईं पुस्तौँ-पुस्तासम्म नै क्रोध गरिरहनुहुनेछ?

के तपाईं हामीलाई पुनर्जागृत बनाउनुहुन्‍न,

ताकि तपाईंका प्रजा तपाईंमा रमाऊन्?

हे याहवेह, आफ्नो अचुक प्रेम हामीलाई देखाउनुहोस्,

र हामीलाई तपाईंको मुक्ति प्रदान गर्नुहोस्!

याहवेह परमेश्‍वरले जे भन्‍नुहुनेछ, त्यो म सुन्‍नेछु;

उहाँले आफ्ना प्रजाहरू,

र आफ्ना विश्‍वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ—

तर तिनीहरू फेरि मूर्खतातिर नलागून्।

निश्‍चय नै उहाँको भय मान्‍नेहरूको नजिकै उहाँको मुक्ति छ;

ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्।

अचुक प्रेम र विश्‍वासयोग्यता आपसमा मिल्छन्;

धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।

पृथ्वीबाट विश्‍वासयोग्यताको अङ्कुर निस्कन्छ,

र स्वर्गबाट धार्मिकताले तल हेर्दछ।

जे असल छ, याहवेहले त्यही दिनुहुनेछ;

र हाम्रा जमिनले फसल उमार्नेछ।

धार्मिकता उहाँको अगि-अगि जानेछ

र उहाँका पाइलाहरूको निम्ति मार्ग तयार गर्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.