Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 83
एउटा गीत, आसापको भजन।
हे परमेश्वर, तपाईं मौन नरहनुहोस्;
हे परमेश्वर, आफ्नो कान नथुन्नुहोस्;
तपाईं निष्क्रिय नहुनुहोस्!
हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्,
तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्।
तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्;
तिनीहरू तपाईंले अनमोल ठान्नुभएकाहरूको विरुद्धमा मतो गर्छन्।
तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ;
ताकि इस्राएल भन्ने नामको सम्झना नै नरहोस्!”
तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्;
तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्—
एदोमीहरू र इश्माएलीहरूका पालहरू,
मोआबीहरू र हग्रीहरू,
गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू,
पलिश्तीहरू र टायरका निवासीहरू।
लोतका सन्तानलाई सशक्त पार्न,
अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला
मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्,
कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्,
जो एन्दोरमा नाश पारिएका थिए,
र जमिनमा फोहोर भएका थिए।
तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ,
राजकुमारहरूलाई जेबह र सल्मुन्नाजस्तै बनाउनुहोस्;
जसले भने, “हामी परमेश्वरका खर्कलाई
कब्जा गरौँ।”
हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ,
बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्!
जसरी आगोले जङ्गल भस्म पार्छ,
र ज्वालाले पहाड जलाउँछ,
त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस्
र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्!
तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह,
तिनीहरूले तपाईंको नामको खोजी गरून्।
तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्;
तिनीहरू अपमानमा नष्ट होऊन्।
तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो—
तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च परमेश्वर हुनुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.