Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 75
सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” को रागमा आधारित, आसापको भजन; एक गीत।
हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ,
हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ;
मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
तपाईं भन्नुहुन्छ, “मैले उचित समय ठहराएको छु;
मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।
जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्,
त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ। सेला
घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’
र दुष्ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ1 नउठाओ,
स्वर्गको विरुद्धमा तिमीहरूको सिङ नउठाओ;
मुन्टो बटारेर घमण्डसाथ नबोल।’ ”
किनकि विजय पूर्वबाट वा पश्चिमबाट
वा मरुभूमिबाट आउँदैन।
परमेश्वरले न्याय गर्नुहुन्छ:
उहाँले कसैलाई होच्याउनुहुन्छ, र कसैलाई उच्च पार्नुहुन्छ,
याहवेहको हातमा एउटा कचौरा छ,
जसमा मसाला मिसिएको फीँज भएको मद्य छ;
उहाँले त्यो खन्याउनुहुन्छ, र पृथ्वीका सबै दुष्टहरूले
मद्यको थिग्रासम्मै पिउँछन्।
तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु;
म याकोबका परमेश्वरको प्रशंसा गाउनेछु,
जसले भन्नुहुन्छ, “म सबै दुष्टहरूका सिङहरू काटिदिनेछु;
तर धर्मी जनहरूका सिङचाहिँ उच्च पारिनेछन्।”
Source notes (1)
- Footnote सिङ ले यहाँ शक्ति जनाउँदछ; पद 5 र 10 मा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.