Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 68

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन; एक गीत।

परमेश्‍वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्;

उहाँका वैरीहरू उहाँको सामुबाट भागून्।

हावाले धुवाँलाई उडाए झैँ

तपाईंले तिनीहरूलाई उडाइदिनुहोस्।

आगोको अगि मैन बिलाइए झैँ, परमेश्‍वरको अगि दुष्‍टहरू नष्‍ट होऊन्।

तर धर्मीहरूचाहिँ खुशी होऊन्;

र परमेश्‍वरको अगि तिनीहरू रमाऊन्;

तिनीहरू खुशी र आनन्दित होऊन्।

परमेश्‍वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ;

बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर;

उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।

उहाँको पवित्र वासस्थानमा

परमेश्‍वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।

एकलो मानिसलाई परमेश्‍वरले परिवारमा बसाल्नुहुन्छ;

उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ;

तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।

हे परमेश्‍वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो,

जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला

तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो;

अद्वितीय परमेश्‍वरको सामु, जो सीनै पर्वतका परमेश्‍वर हुनुहुन्छ,

परमेश्‍वरको सामु, जो इस्राएलका परमेश्‍वर हुनुहुन्छ।

हे परमेश्‍वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो;

तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो।

तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे;

हे परमेश्‍वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो।

प्रभुले वचन घोषणा गर्नुहुन्छ;

र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ:

“राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्;

घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्,

जब तिमीहरू भेडाको खोरमा सुत्छौ,

तब तिमीहरू ढुकुरका पखेटा चाँदी,

र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।”

जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो,

त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो।

बाशानका पर्वतहरू, वैभवशाली पर्वतहरू,

बाशानका पर्वतहरू, धेरै अग्ला पर्वतहरू,

हे अग्ला चुचुराहरू हो, तिमी किन ईर्ष्याले त्यस पर्वततिर हेर्छौ,

जुन पर्वतमा परमेश्‍वरले शासन गर्न रोज्नुभएको छ;

जहाँ याहवेह स्वयम् सदासर्वदा बास गर्नुहुनेछ?

परमेश्‍वरका रथहरू दसौँ हजार,

र हजारौँ-हजार छन्;

प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ।

जब तपाईं उच्‍चमा चढिजानुभयो,

तब तपाईंले धेरै कैदीहरूलाई बन्दी बनाएर लैजानुभयो;

तपाईंले मानिसहरूबाट उपहार प्राप्‍त गर्नुभयो,

विद्रोही मानिसहरूबाट समेत पाउनुभयो—

ताकि तपाईं, याहवेह परमेश्‍वर, त्यहाँ बास गर्न सक्नुभएको होस्।

परमेश्‍वर, हाम्रा मुक्तिदाता प्रभुको प्रशंसा होस्,

जसले हाम्रा दिनहुँको बोझहरू बोक्नुहुन्छ। सेला

हाम्रा परमेश्‍वर हामीलाई बचाउने परमेश्‍वर हुनुहुन्छ;

याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।

परमेश्‍वरले निश्‍चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ;

ती मानिसहरू, जसका टाउको केशले भरिएको छ, जो आफ्ना पापमा लागिरहन्छन्।

प्रभु भन्‍नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु;

म तिनीहरूलाई समुद्रको गहिराइहरूबाट फर्काइल्याउनेछु;

तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक,

र तिमीहरूका कुकुरहरूले त्यही रगतमा जिब्रा चोप्न पाऊन्।”

हे परमेश्‍वर, तपाईंको विजययात्रा देख्न सकिन्छ,

मेरा परमेश्‍वर र महाराजाको पवित्रस्थानतिर विजययात्रा सवार भइरहेको छ।

गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्;

र तिनीहरूसँग खैँजडी बजाउने कन्याहरू छन्।

ठूलो महासभामा परमेश्‍वरको प्रशंसा गर!

इस्राएलको सभामा याहवेहको प्रशंसा गर!

सबैभन्दा सानो कुल बेन्यामीनले तिनीहरूलाई अगुवाइ गर्दछ,

यहूदाका शासकहरू तिनीहरूको झुण्डमा सामेल छन्;

जबूलूनका र नप्‍तालीका शासकहरू पनि तिनीहरूसँगै सामेल छन्।

हे परमेश्‍वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्;

हे परमेश्‍वर, तपाईंको शक्ति बितेको दिनमा जस्तै गरी हामीलाई देखाउनुहोस्।

यरूशलेममा भएको तपाईंको मन्दिरको खातिर

तपाईंको निम्ति राजाहरूले भेटीहरू ल्याउनेछन्।

निगालो घारीको बीचमा रहने जङ्गली पशुलाई हप्काउनुहोस्;

राष्ट्रहरूका बाछाहरूका बीचमा रहने साँढेहरूको झुण्डलाई हकार्नुहोस्!

हारेपछि तिनीहरूले चाँदीका टुक्राहरू ल्याऊन्।

लडाइँमा रमाउने राष्ट्रहरूलाई छरपस्ट पारिदिनुहोस्।

राजदूतहरू इजिप्टबाट आउनेछन्;

कूशले1 आफूलाई परमेश्‍वरमा समर्पण गर्नेछ।

हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको स्तुतिगान गर,

प्रभुको प्रशंसा गाओ; सेला

उहाँ, जो प्राचीनकालदेखि नै सर्वोच्‍च स्वर्गमा सवार गर्नुहुन्छ,

जो शक्तिशाली आवाजका साथ गर्जनुहुन्छ।

परमेश्‍वरको शक्तिको घोषणा गर,

जसको महानता इस्राएलभरि छाएको छ,

आकाशले उहाँको शक्ति देखाउँछ।

तपाईं परमेश्‍वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ;

इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई शक्ति र सामर्थ्य दिनुहुन्छ।

परमेश्‍वरलाई प्रशंसा होस्!

Source notes (1)
  1. Footnote अर्थात्, नील नदी क्षेत्रको माथिल्‍लो भाग

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.