Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 61
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको भजन।
हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्;
मेरो प्रार्थना सुनिदिनुहोस्।
जब मेरो हृदय धेरै व्याकुल हुन्छ,
तब म पृथ्वीको छेउदेखि तपाईंलाई पुकार्दछु;
मभन्दा धेरै अग्लो चट्टानमा मलाई लैजानुहोस्।
किनकि तपाईं मेरा लागि शरणस्थान हुनुहुन्छ,
तपाईं मेरा वैरीका विरुद्धमा एक बलियो धरहरा हुनुहुन्छ।
तपाईंको पालमा सदासर्वदा रहिरहन,
र तपाईंको पखेटामुनि शरण लिन पाऊँ भन्ने मेरो चाहना छ। सेला
किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ;
तपाईंको नामको भय मान्नेहरूका उत्तराधिकार मलाई दिनुभएको छ।
राजाको आयु बढाइदिनुहोस्;
पुस्तौँसम्म उनको आयु बढाउनुहोस्।
उनी परमेश्वरको उपस्थितिमा सदासर्वदा राज गरून्;
तपाईंको अचुक प्रेम र विश्वासयोग्यताले उनको सुरक्षा गर्नुहोस्!
तब म यसरी सदासर्वदा तपाईंको नामको स्तुतिगान गाउनेछु
र प्रत्येक दिन मेरा भाकलहरू पूरा गर्नेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.