Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 60
सङ्गीत निर्देशकको निम्ति, “करारको लिली” लयमा आधारित, दावीदको मिक्ताम, जब उनले अराम नहरेम र आराम सोबाह, र नुनको बेँसीमा युद्ध गरे, तब योआबले 12 हजार एदोमीहरूलाई मारेर फर्के।
हे परमेश्वर, तपाईंले हामीलाई त्यागिदिनुभएको छ, र हामीलाई तोडिदिनुभएको छ;
तपाईं हामीसँग रिसाउनुभएको छ—अब हामीलाई पुनर्स्थापित गर्नुहोस्!
तपाईंले धर्तीलाई हल्लाउनुभएको छ, र त्यसलाई फटाएर खुल्ला पार्नुभएको छ;
पृथ्वीका धाँदाहरू जोडिदिनुहोस्; किनकि त्यो हल्लिँदैछ।
तपाईंले तपाईंका मानिसहरूलाई अति कठिन समयहरू भोग्न दिनुभएको छ;
तपाईंले हामीलाई पिएर धरमराइदिने मद्य दिनुभएको छ।
तपाईंको भय मान्नेहरूका लागि तपाईंले विजयको झण्डा उच्च पार्नुभएको छ,
ताकि तिनीहरूले धनुबाट सुरक्षा पाउन सकून्। सेला
तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;
ताकि तपाईंका प्रियजनहरूले छुटकारा पाऊन्।
परमेश्वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:
“विजयमा म शेकेमलाई विभाजन गर्नेछु,
र सुक्कोतको बेँसीलाई नापेर छुट्ट्याउनेछु।
गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो;
एफ्राइम मेरो टोप हो,
यहूदा मेरो राजदण्ड हो।
मोआब मेरो हात धुने भाँडो हो,
एदोममा म आफ्नो जुत्ता फाल्नेछु;
पलिश्तीमाथिको विजयमा म कराउँछु।”
किल्ला भएको सहरमा मलाई कसले पुर्याइदेला?
कसले मलाई एदोमसम्म डोर्याउला?
हे परमेश्वर, तपाईं नै होइन, जसले हामीलाई अहिले त्याग्नुभएको छ,
र अहिले हाम्रा सेनाहरूका साथमा पनि जानुभएन?
शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;
किनकि मानिसको सहायता व्यर्थ छ।
परमेश्वरको सहायताद्वारा हामीले विजय प्राप्त गर्नेछौँ,
र उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.