Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 57
सङ्गीत निर्देशकको निम्ति, “विनाश नगर” लयमा आधारित, शाऊलबाट भागेर ओडारमा बास बस्दा दावीदको मिक्ताम।
ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्वर, ममाथि कृपा गर्नुहोस्;
किनकि म तपाईंमा शरण लिन्छु।
जबसम्म यो विपत्ति हट्दैन,
तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।
म सर्वोच्च परमेश्वरलाई पुकार्छु,
परमेश्वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ1।
उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ;
मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला
परमेश्वरले आफ्नो अचुक प्रेम र विश्वसनीयता पठाउनुहुन्छ।
म सिंहहरूको बीचमा छु;
हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्न म बाध्य छु;
जसका दाँतहरू धारिला तरवार र काँड हुन्,
जसका जिब्रा धारिलो तरवारजस्तै छन्।
हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्;
म सङ्कष्टले झुकेको छु।
तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्,
तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला
हे परमेश्वर, मेरो हृदय स्थिर छ,
मेरो हृदय स्थिर छ;
म गाउनेछु र धुन बजाउनेछु।
हे मेरो प्राण, उठ्!
हे सारङ्गी र वीणा जाग्!
म प्रभातलाई जगाउनेछु।
हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्च छ;
तपाईंको विश्वासयोग्यता आकाशसम्मै पुग्दछ।
हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
Source notes (1)
- Footnote मूल भाषामा मेरो निम्ति बदला लिनुहुन्छ
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.