Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 49
सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन।
हे सबै जाति-जातिहरू हो, यो सुन;
हे संसारका बासिन्दाहरू हो, सुन;
साना र ठूला दुवै,
धनी र गरिब सबै ध्यान देओ:
मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ;
मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।
म हितोपदेशमा ध्यान लगाउनेछु;
वीणा बजाएर उखानको अर्थ खोल्नेछु।
दुष्ट छलीहरूले मलाई घेर्दा,
दुःखका दिनहरू आउँदा म किन डराउने,
तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्,
र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।
कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन,
न त परमेश्वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।
जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ;
कसैको धनले तिरेर कहिल्यै पुग्दैन।
कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ,
र कहिल्यै कुहुनुपर्दैन1।
किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्;
मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्,
तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।
तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ;
पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्,
यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।
मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्;
तिनीहरू नष्ट हुने पशुजस्तै छन्।
आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ,
र तिनीहरूको कुराहरूलाई समर्थन गरेर
तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला
भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ;
मृत्यु तिनीहरूको गोठालो हुनेछ
(तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)।
तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ;
तिनीहरूका राजकीय महलदेखि टाढा।
तर परमेश्वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ;
निश्चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।
नडराओ, जब अरू कोही धनी हुन्छन्,
जब तिनीहरूको घरको गौरव बढ्छ;
किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्;
तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।
तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि—
र तिम्रो उन्नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—
तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्;
जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।
जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भने
ती मानिसहरू नष्ट हुने पशुजस्तै हुन्।
Source notes (1)
- Footnote अथवा चिहानको अनुभव गर्दैन
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.