Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 48
एउटा गीत, कोरहका छोराहरूको भजन।
हाम्रा परमेश्वरको सहरमा, उहाँको पवित्र पर्वतमा,
याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।
उचाइमा सुन्दर,
सारा पृथ्वीको आनन्द सियोन पर्वत हो,
जो सापोनको1 उचाइझैँ छ,
जो हाम्रा महाराजाको सहर हो।
तिनका2 किल्लाहरूमा परमेश्वर हुनुहुन्छ;
तिनका रक्षक परमेश्वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।
जब राजाहरूले एकसाथ दल बाँधे;
जब तिनीहरूसँगै अगि बढे,
तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्क परे;
तिनीहरू डराएर भागे।
तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे,
प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।
तर्शीशको जहाजहरूलाई झैँ
तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्ट पार्नुभयो।
सेनाहरूका याहवेहको सहरमा,
हाम्रा परमेश्वरको नगरमा,
जस्तो हामीले सुनेका थियौँ,
त्यस्तै देखेका छौँः
परमेश्वरले तिनलाई
सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला
हे परमेश्वर, तपाईंको मन्दिरभित्र,
हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।
हे परमेश्वर, तपाईंको नामजस्तै,
तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ;
तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
तपाईंका सही न्यायहरूका कारण,
सियोन पर्वत आनन्दित हुन्छ;
यहूदाका सहरहरू3 हर्षित हुन्छन्।
सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर;
यसका धरहराहरू गन,
यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर;
यसका किल्लाहरूमाथि दृष्टि लगाओ;
तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा
राम्ररी वर्णन गर्न सक्छौ।
किनकि यिनै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ;
अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।
Source notes (3)
- Footnote सापोन कनानीहरूको अति पवित्र पर्वत थियो।
- Footnote यसले यरूशलेम सहरलाई जनाउँदछ
- Footnote मूल भाषामा यहूदाका छोरीहरू
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.