Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 45

सङ्गीत निर्देशकको लागि “लिली फूल” को रागमा आधारित, कोरहका छोराहरूबाट मास्किल। विवाहको गीत।

जब म राजाको निम्ति गीत गाउँदछु;

सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ;

मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।

तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्‍ठ हुनुहुन्छ;

र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्;

किनकि परमेश्‍वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।

हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्;

प्रताप र वैभव धारण गर्नुहोस्।

तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्;

सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्;

तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।

तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्;

राष्ट्रहरू तपाईंको चरणमा झुकून्।

हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ;

न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ।

तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्‍टतालाई घृणा गर्नुहुन्छ;

यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा

उच्‍च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।

तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्‍नाले सुगन्धित छन्;

हस्तीदन्तले सिँगारिएका राजमहलबाट

तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।

तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्;

तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।

हे कुमारी, सुन, ध्यान देऊ र विचार गर:

तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!

तिम्रो सुन्दरताले राजा मोहित होऊन्;

उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।

टायरकी छोरीहरू उपहार लिएर आउनेछन्;

धनी मानिसहरूले तिम्रो कृपादृष्‍टि खोज्नेछन्।

राजकुमारी राजमहलमा ऐश्‍वर्यमयी छिन्;

तिनको वस्त्र सुनले जडिएको छ।

तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्‍याइन्छिन्;

तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्,

जो तिनीसँगै रहनलाई ल्याइन्छन्।

हर्ष र आनन्दका साथ डोर्‍याइँदै,

तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।

तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्;

तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।

म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु;

यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.