Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 44

सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको मस्किल।

हे परमेश्‍वर, हामीले आफ्नै कानले सुनेका छौँ;

हाम्रा पितापुर्खाहरूले हामीलाई भनेका छन्,

तपाईंले प्राचीन कालमा,

उनीहरूका समयमा के-के कामहरू गर्नुभयो।

तपाईंले आफ्नै हातले जाति-जातिहरूलाई धपाइदिनुभयो,

र हाम्रा पितापुर्खाहरूलाई बसाल्नुभयो;

तपाईंले जाति-जातिहरूलाई सताउनुभयो,

र हाम्रा पितापुर्खाहरूलाई वृद्धि गराउनुभयो।

तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,

न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्;

तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले

र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए;

किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।

तपाईं मेरा राजा र मेरा परमेश्‍वर हुनुहुन्छ;

जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।

तपाईंद्वारा नै हाम्रा शत्रुहरूलाई पछाडि धपाउँछौँ;

तपाईंको नामद्वारा नै हाम्रा वैरीहरूलाई कुल्चन्छौँ।

म आफ्नो धनुमा भरोसा गर्दिनँ,

मेरो तरवारले मलाई विजय गराउँदैन;

तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ;

तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।

दिनभरि नै हामी आफ्ना परमेश्‍वरमा गर्व गर्छौँ,

र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला

तर अहिले तपाईंले हामीलाई त्याग्नुभएको छ, र लज्जित तुल्याउनुभएको छ;

तपाईं हाम्रा सेनाहरूको साथमा जान छोड्नुभएको छ।

तपाईंले हामीलाई शत्रुहरूको सामुबाट पछि हट्ने तुल्याउनुभएको छ;

र हाम्रा विरोधीहरूले हामीलाई लुटेका छन्।

तपाईंले हामीलाई भेडाहरूजस्तै अरूको आहारा हुनलाई त्यागिदिनुभएको छ;

र हामीलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नुभएको छ।

तपाईंले आफ्नो प्रजाहरूलाई सस्तोमा दास हुनलाई बेचिदिनुभएको छ;

तिनीहरूको बिक्रीबाट तपाईंलाई केही फाइदा भएको छैन।

हाम्रा वरिपरिका मानिसहरूका बीचमा हामीलाई तिरस्कार

र हाँसोको पात्र बनाउनुभएको छ;

छिमेकीहरूका बीचमा हामीलाई हाँसोको पात्र तुल्याउनुभएको छ।

तपाईंले हामीलाई जाति-जातिहरूका बीचमा हाँसोको पात्र हुन दिनुभएको छ;

मानिसहरू हामीलाई देखेर टाउको हल्‍लाउँछन्।

मेरो गिल्‍ला गर्ने र खिसी गर्नेहरूका बोलीहरूले,

बदला लिने शत्रुहरूका कारणले,

मैले आफ्नो अपमान दिनभरि सहनुपर्छ,

र मेरो अनुहार लाजले ढाकिएको छ।

यी सबै कुरा हामीमाथि परिआएका छन्;

यद्यपि हामीले तपाईंलाई बिर्सेका छैनौँ,

हामी तपाईंको करारप्रति झूटो भएका छैनौँ।

हाम्रा हृदय तपाईंबाट पछाडि फर्केका छैनन्;

हाम्रा पाइलाहरू तपाईंका मार्गबाट तर्किएका छैनन्।

तर तपाईंले हामीलाई चकनाचुर पारेर स्यालहरू बस्‍ने ठाउँ बनाउनुभयो,

र हामीलाई घोर अन्धकारले ढाक्नुभयो।

यदि हाम्रा परमेश्‍वरको नाम हामीले बिर्सिएका छौँ भने,

अथवा कुनै विदेशी देवी-देवतातिर हाम्रा हातहरू पसारेका छौँ भने,

के परमेश्‍वरले त्यो कुरा जान्‍नुहुने थिएन र?

किनकि उहाँले हाम्रा हृदयका गुप्‍त कुराहरू समेत जान्‍नुहुन्छ।

तरै पनि तपाईंको खातिर हामी दिनभरि मृत्युको सामना गर्छौँ;

हामीहरू काट्न लगिएका भेडाहरूजस्तै गनिएका छौँ।

हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ?

जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्।

किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ

र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ?

हामी धुलोसम्मै झारिएका छौँ;

हाम्रो पेट जमिनमै टाँसिसकेको छ।

उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्;

तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.