Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 37

दावीदको भजन।

दुष्‍ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान,

वा दुष्‍ट काम गर्नेहरूप्रति डाही नहोऊ;

किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्,

हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्‍ट हुनेछन्।

याहवेहमा भरोसा राख, र भलाइ गर;

ताकि देशमा आनन्दसाथ बस्‍न सक।

याहवेहमा आनन्दित होऊ;

र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ।

तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प;

उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ:

उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान

र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ।

याहवेहको सामु मौन भई बस,

र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर;

जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्,

तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान।

रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क;

झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ।

किनकि दुष्‍टहरू नष्‍ट पारिनेछन्;

तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्।

थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्;

तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्।

तर नम्रहरूले देश अधिकार गर्नेछन्,

र शान्ति र प्रशस्ततामा जिउनेछन्।

दुष्‍टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्,

र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्;

तर प्रभु दुष्‍टहरूमाथि हाँस्‍नुहुन्छ;

किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्‍नुहुन्छ।

दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न,

र सत्यको बाटोमा जिउनेहरूलाई मार्न,

दुष्‍टहरूले तरवार थुत्छन्,

र धनुमा ताँदो चढाउँछन्।

तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ,

र तिनीहरूका धनुहरू भाँचिनेछन्।

दुष्‍टहरूका धेरै सम्पत्तिभन्दा

धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो;

किनकि दुष्‍टहरूको शक्ति तोडिनेछन्,

तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ।

निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्,

र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ।

आपत्‌को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्;

अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।

तर दुष्‍टहरूचाहिँ नष्‍ट हुनेछन्:

याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि

तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्।

दुष्‍टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्;

तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्।

याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्;

तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्‍ट हुनेछन्।

याहवेहमा आनन्दित हुने मानिसका

पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ;

त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन;

किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ।

म जवान थिएँ र अहिले वृद्ध भएको छु;

तर धर्मी जनहरू त्यागिएका

वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन।

तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्‍ला मनले दिन्छन्;

तिनीहरूका सन्तान आशिषित हुनेछन्।

दुष्‍टताबाट फर्क र भलाइ गर;

अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ।

किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ,

र आफ्ना विश्‍वासयोग्यहरूलाई त्याग्नुहुन्‍न।

तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्;

तर दुष्‍टका सन्तानहरू नष्‍ट भएर जानेछन्।

धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्,

र त्यसमा सदासर्वदा बास गर्नेछन्।

धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्,

र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ।

त्यसको हृदयमा त्यसका परमेश्‍वरको व्यवस्था हुन्छ;

त्यसका खुट्टाहरू चिप्लँदैनन्।

दुष्‍टले धर्मीको बाटोमा पासो थापेर बस्छ,

र त्यसलाई मार्ने उद्देश्य राख्दछ;

तर याहवेहले धर्मी जनलाई दुष्‍टहरूको शक्तिमा छोड्नुहुनेछैन,

न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ।

याहवेहमा आशा गर

र उहाँकै मार्गमा हिँड;

प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ।

दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ।

मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई

आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु,

तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन;

यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ।

निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर;

किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्।

तर सबै पापीहरू नष्‍ट हुनेछन्;

दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन।

धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ;

सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ।

याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ;

उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ;

किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.