Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 36
सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन।
दुष्टका पाप सम्बन्धी,
मेरो हृदयमा परमेश्वरको एक सन्देश छ:
तिनीहरूका आँखामा
परमेश्वरको डर छैन।
तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्च ठान्छन्,
तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।
तिनीहरूका मुखका शब्दहरू दुष्ट र छली छन्;
तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।
तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्;
तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्;
र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।
हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ,
तपाईंको विश्वासयोग्यता आकाशसम्मै छ।
तपाईंको धार्मिकता परमेश्वरका अति उच्च पहाडहरू जस्तै छन्;
तपाईंको न्याय गहिरो समुद्रजस्तै छ।
हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।
हे परमेश्वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!
मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।
तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्;
तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।
किनकि जीवनको स्रोत तपाईंसँग छ;
तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।
तपाईंलाई चिन्नेहरूमा तपाईंको प्रेम
र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।
अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्,
न त दुष्टका हातले मलाई भगाउन पाओस्।
दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्;
तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.