Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

भजनसंग्रह 35

दावीदको भजन।

हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्;

मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्।

ढाल लिनुहोस् र कवच पहिरनुहोस्;

उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्।

मलाई खेद्नेहरूका विरुद्धमा

तपाईंको भाला र बर्छा उठाउनुहोस्।

मलाई भन्‍नुहोस्,

“म तेरो मुक्ति हुँ।”

मेरो प्राण लिन खोज्नेहरू

अपमानित होऊन् र शर्ममा परून्;

मेरा विरुद्धमा हानि रच्नेहरू

पछाडि फर्कून् र शर्ममा परून्।

याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्;

तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्।

याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्;

तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।

किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए;

र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने,

अचानक तिनीहरूमाथि विनाश आइपरोस्;

तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्,

तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्‍ट होऊन्।

तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ,

र उहाँको मुक्तिमा हर्षित हुनेछ।

मेरो पूरा बलले भन्‍नेछु,

“हे याहवेह, तपाईंजस्तो को छ र?

तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ,

अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।”

निर्दयी साक्षीहरू अगि आउँछन्;

तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्।

तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्,

तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ।

तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ;

र उपवास बसेर आफूलाई दुःखित बनाएँ,

जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो,

मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ,

म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ।

आफ्नी आमाको निम्ति विलाप गरेझैँ

मैले शोकमा शिर झुकाएँ।

तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे;

मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए।

तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे।

भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे;

तिनीहरूले ममाथि दाह्रा किटे।

हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ?

तिनीहरूका आक्रमणबाट,

र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्।

म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु;

विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु।

मेरा शत्रुहरू कारणविना

मेरो विरुद्धमा रमाउन नपाऊन्;

मलाई घृणा गर्नेहरूले कारणविना

एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्1।

तिनीहरू त शान्तिको कुरै गर्दैनन्;

तर देशमा शान्तिसँग बस्‍ने

मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्।

तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो!

हामीले आफ्नै आँखाले यो देख्न पायौँ।”

हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्।

हे प्रभु, मदेखि टाढा नहुनुहोस्!

हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्!

मेरो निम्ति लडिदिनुहोस्।

हे याहवेह, मेरा परमेश्‍वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्;

तिनीहरू ममाथि रमाउन नपाऊन्।

तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!”

अथवा भन्‍न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।”

मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू

सबै लाजमा र अन्योलमा परून्;

मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू

सबै शर्म र अपमानले ढाकिऊन्।

म निर्दोष साबित भएको कामना राख्नेहरू

आनन्दले जयजयकार गरून् र हर्षित होऊन्;

तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्‍च पारिनुभएको होस्,

उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।”

मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ,

र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।

Source notes (1)
  1. Footnote मूल भाषामा आँखा झिम्काउनु

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.