Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 34
अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन।
हर समय म याहवेहलाई स्तुति गर्नेछु;
उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।
याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ;
कष्टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।
मसँगसँगै याहवेहको महिमा गर;
हामी मिलेर उहाँको नामलाई उच्च पारौँ।
मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो,
उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।
उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्;
तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।
यस गरिब मानिसले याहवेहलाई पुकार गर्यो, र उहाँले त्यसलाई सुन्नुभयो;
उहाँले त्यसका सबै सङ्कष्टहरूबाट बचाउनुभयो।
याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्नेहरूका
चारैतिर सुरक्षाको घेरा लगाउँछन्,
र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ!
धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।
हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान;
किनकि उहाँको डर मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन।
जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्;
तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।
हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन।
म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।
तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,
दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने
आफ्नो जिब्रोलाई खराब कुरादेखि
र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!
दुष्टताबाट अलग बस र भलाइ गर;
शान्ति खोज, र त्यसको पछि लाग।
याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,
र उहाँका कान तिनीहरूका पुकार सुन्नलाई खुल्ला हुन्छन्।
तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ,
अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।
धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्नुहुन्छ;
तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।
याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,
र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्,
तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;
याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ;
तिनमा एउटै हाड पनि भाँचिनेछैन।
खराबीले दुष्टलाई मार्दछ;
धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।
याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ;
उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.