Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 32
दावीदको मस्किल।
धन्य हो त्यो मानिस,
जसका अपराधहरू क्षमा भएका छन्;
जसका पापहरू ढाकिएका छन्।
त्यो मानिस धन्यको हो,
जसको पापको लेखा याहवेहले राख्नुहुन्न,
जसको मनमा कुनै छलकपट छैन।
जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,
तब मेरो दिनभरिको विलौनाले गर्दा
मेरा हाडहरू मक्किए।
किनकि दिनरात
तपाईंको बाहुलीको भार ममाथि रह्यो;
मेरो शरीरको शक्ति
गर्मीको तापलेझैँ सुकिगएको छ। सेला
तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,
र मेरो अधर्म लुकाइ राखिनँ।
मैले भनेँ, “म याहवेहको सामु
मेरो अपराधहरू स्वीकार गर्नेछु।”
र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला
यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,
सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;
निश्चय नै उर्लेको डरलाग्दो भेलले
तिनीहरूलाई छुनेछैन।
तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ;
तपाईंले मलाई सङ्कष्टबाट रक्षा गर्नुहुन्छ;
तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला
म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;
म तँलाई सल्लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।
घोडा वा खच्चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन,
जसलाई रोक्न लगाम
र डोकरी चाहिन्छ,
नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।
दुष्टहरूले धेरै कष्ट भोग्छन्,
तर याहवेहमा भरोसा राख्नेहरूलाई
उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।
हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ;
सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.