Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 17
दावीदको प्रार्थना।
हे याहवेह मेरो पुकारलाई सुन्नुहोस्,
मेरो पुकार उचित छ;
निष्कपट ओठहरूबाट निस्केका
मेरो प्रार्थनामा कान लगाउनुहोस्।
मेरो निर्दोषता तपाईंबाट ठहरिएको होस्;
तपाईंका आँखाहरूले जे सही छ, त्यही देखून्।
यदि तपाईंले मेरो हृदय जाँच्नुभयो भने,
राति आएर मलाई जाँच गर्नुभए तापनि
तपाईंले मभित्र केही पनि दुष्ट योजना भेट्टाउनुहुनेछैन;
मैले संकल्प गरेको छु, मेरो ओठले पाप गर्नेछैन।
यद्यपि मानिसहरूले मलाई घूस दिन खोज्छन्;
तपाईंको मुखबाट निस्केका आज्ञाद्वारा
मैले आफूलाई हिंसाको मार्गबाट जोगाइराखेको छु।
मेरा पाइलाहरू तपाईंका मार्गमा चलेका छन्;
मेरा पाउहरू चिप्लेका छैनन्।
हे परमेश्वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ;
तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्नुहोस्।
तपाईंको अचुक प्रेमको अद्भुत कार्यहरू देखाउनुहोस्;
तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट
तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।
मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्;
तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,
मलाई नष्ट पार्न आइलाग्ने दुष्टहरूबाट,
मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।
तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्,
र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्।
मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्;
मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्।
तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्,
तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।
हे याहवेह, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्;
तिनीहरूलाई पराजित गरिदिनुहोस्;
आफ्नो तरवारले मलाई दुष्टहरूबाट बचाउनुहोस्।
हे याहवेह, जसको पुरस्कार यस संसारको जीवनकालमा सीमित छ,
संसारका यस्ता मानिसहरूबाट तपाईंको बाहुलीले मलाई बचाउनुहोस्।
तपाईंले साँचेर राख्नुभएका थोकहरूले दुष्टहरूको पेट भरिएको होस्;
तिनीहरूका छोराछोरीहरूले प्रशस्त खानेकुरा हसुरून्,
र तिनीहरूका आफ्ना भावी छोराछोरीहरूका लागि पनि प्रशस्त रहोस्।
तर मचाहिँ धार्मिकतामा तपाईंको मुहार हेर्नेछु;
जब म बिउँझन्छु, तब तपाईंको मुहारको दर्शन गरेर म सन्तुष्ट हुनेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.