Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 141
दावीदको भजन।
हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्;
जब म तपाईंलाई पुकार्छु, मलाई सुनिदिनुहोस्!
मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्;
र मैले आफ्ना हातहरू उचाल्दा, बेलुकीको त्यस बलिदानजस्तै ठहरिओस्!
हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्;
मेरा ओठहरूको ढोकामाथि रखवाली गरिदिनुहोस्!
मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्;
ताकि अधर्मीहरूका दुष्कर्ममा म कुनै भाग नलिऊँ;
साथै ती कुकर्मीहरूसित मिलेर
मैले तिनीहरूको स्वादिष्ठ भोजन खान नपरोस्!
धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ;
तिनले मलाई हप्काऊन्, त्योचाहिँ मेरो शिरको निम्ति तेल हुनेछ।
मेरो शिरले त्यसलाई इन्कार गर्नेछैन;
किनभने मेरो प्रार्थना सधैँ कुकर्मीहरूका कामको विरुद्ध हुन्छ।
तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्,
र दुष्टहरूले जान्नेछन् कि, मेरा वचनहरू ठिक थिए।
तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ,
त्यसरी नै हाम्रा हाडहरू चिहानका मुखमा छरिएका छन्।”
हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्;
म तपाईंमा शरण लिन्छु; मेरो जीवन मृत्युलाई नदिनुहोस्!
कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट,
तिनीहरूले थापेका पासोबाट मलाई रक्षा गर्नुहोस्!
म सकुशल उम्कँदा,
दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै जालमा फसून्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.