Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 135
याहवेहको प्रशंसा गर!1
याहवेहको नामको प्रशंसा गर;
हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।
तिमीहरू, जो याहवेहको भवनमा,
हाम्रा परमेश्वरको भवनका चोकहरूमा सेवा गर्दछौ।
याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ;
उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।
किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन,
अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।
म जान्दछु, याहवेह महान् हुनुहुन्छ,
र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।
आकाशमा र पृथ्वीमा,
समुद्रहरू अनि तिनका गहिराइमा,
याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।
उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ;
उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ;
र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
उहाँले इजिप्टका मानिस र पशु,
दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।
हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू,
फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।
उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो;
र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो—
एमोरीहरूका राजा सीहोन,
बाशानका राजा ओग,
र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो—
अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा,
आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो।
हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ;
हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ,
र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।
जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्,
ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।
तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;
आँखा त छन्, तर देख्न सक्दैनन्।
तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्;
न तिनीहरूको मुखमा सास नै छ।
मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;
तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर;
हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;
हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर;
हे उहाँको डर मान्नेहरू हो, याहवेहलाई प्रशंसा गर।
सियोनबाट याहवेहलाई प्रशंसा होस्!
यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्!
याहवेहको प्रशंसा गर!
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह ; 3 र 21 पदमा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.