Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 132
आरोहणको गीत।
हे याहवेह, दावीद
र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।
तिनले याहवेहसँग शपथ खाए,
तिनले याकोबका सर्वशक्तिमान्सँग भाकल गरे:
“म, तबसम्म आफ्नो घरमा पस्नेछैनँ,
वा आफ्नो ओछ्यानमा सुत्नेछैनँ,
म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ,
र आँखाहरूका पलकहरूलाई उँघ्न पनि दिनेछैनँ;
जबसम्म याहवेहका निम्ति एउटा ठाउँ
र याकोबका सर्वशक्तिमान्को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
हामीले एप्रातामा त्यसको1 विषयमा सुन्यौँ;
हामीले याआरको2 मैदानमा त्यसलाई भेट्टायौँ:
“हामी उहाँका वासस्थानमा जाऔँ;
यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,
‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत,
तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।
तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्;
र तपाईंका विश्वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”
आफ्ना सेवक दावीदको निम्ति,
तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्!
याहवेहले दावीदसँग शपथ खानुभयो;
एउटा पक्का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन:
“म तेरो सिंहासनमा
तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु।
यदि तेरा छोराहरूले मेरो करार
र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने,
तिनीहरूका छोराहरू पनि
सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्नेछन्।”
किनकि याहवेहले सियोनलाई चुन्नुभएको छ;
उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ;
“यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो;
म यहीँ सिंहासनमा बस्नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु।
प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु;
र त्यसका गरिबहरूलाई म रोटीले तृप्त पार्नेछु।
त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु;
र त्यसका विश्वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
“यहाँ दावीदको निम्ति म एउटा सिङको3 टुसा उमार्नेछु;
र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु।
म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;
तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”
Source notes (3)
- Footnote अथवा करारको सन्दुक
- Footnote 1 इति 13:5, 6 मा हेर्नुहोस्
- Footnote सिङ यसले शक्तिशाली भन्ने जनाउँछ, जो राजा हुन्
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.