Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 115
हाम्रो होइन, हे याहवेह, हाम्रो होइन,
तर तपाईंको अचुक प्रेम र विश्वसनीयताको कारण,
तपाईंकै नामको महिमा होस्!
राष्ट्रहरूले किन यसो भन्छन्,
“तिनीहरूका परमेश्वर कहाँ छन्?”
हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ;
उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ।
तर तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्,
जसलाई मानिसहरूका हातहरूले बनाएका हुन्।
तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्;
आँखा त छन्, तर देख्न सक्दैनन्;
तिनीहरूका कान त छन्, तर सुन्न सक्दैनन्;
नाक त छन्, तर सुँघ्न सक्दैनन्;
हात त छन्, तर स्पर्श गर्न सक्दैनन्;
खुट्टा त छन्, तर हिँड्न सक्दैनन्;
न त तिनीहरू आफ्ना गलाबाट कुनै आवाज नै निकाल्न सक्दछन्।
मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्;
तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
हे सारा इस्राएलीहरू हो, याहवेहमा भरोसा गर—
उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
हे हारूनका घराना हो, याहवेहमा भरोसा गर—
उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
याहवेहसँग डराउनेहरू हो, उहाँमा भरोसा गर—
उहाँ नै तिनीहरूका सहायक र ढाल हुनुहुन्छ।
याहवेहले हामीलाई सम्झनुहुन्छ, र हामीलाई आशिष् दिनुहुनेछ;
उहाँले आफ्ना प्रजा इस्राएललाई आशिष् दिनुहुनेछ;
उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।
उहाँको डर मान्ने साना र ठूला सबैलाई
याहवेहले आशिष् दिनुहुनेछ।
याहवेहले तिमीहरूलाई वृद्धि गरून्,
तिमीहरू र तिमीहरूका सन्तानहरूलाई।
याहवेहले तिमीहरूलाई आशिष् देऊन्,
जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
सर्वोच्च स्वर्ग याहवेहकै हो,
तर पृथ्वीचाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ।
मृतकहरूले याहवेहको प्रशंसा गर्दैनन्;
चिर निन्द्रामा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्;
तर हामी त अहिले र सदासर्वदा नै
याहवेहको स्तुति गर्दछौँ।
याहवेहको प्रशंसा गर!1
Source notes (1)
- Footnote मूल भाषामा हल्लेलूयाह
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.