Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
भजनसंग्रह 104
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
हे याहवेह, मेरा परमेश्वर, तपाईं अति महान् हुनुहुन्छ;
तपाईंले वैभव र प्रतापको पोशाक पहिरनुभएको छ।
पोशाक पहिरेझैँ उहाँले आफूलाई ज्योतिले ढाक्नुभएको छ;
उहाँले आकाशलाई पालझैँ तन्काउनुभएको छ;
उहाँले आफ्नो माथिल्लो कोठाका दलिनहरू पानीमाथि बसाल्नुभएको छ।
उहाँले बादललाई आफ्ना रथ बनाउनुहुन्छ;
र उहाँ बतासका पखेटामा सवार हुनुहुन्छ।
उहाँले बतासलाई आफ्ना दूत,
र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ।
उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो;
त्यो कहिल्यै डगमगाउनेछैन।
तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो;
पानी पर्वतहरूमाथि पुगेको थियो।
तर तपाईंको हप्कीमा पानी भागे,
तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए;
पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे,
तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए।
पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनी
तपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो।
उहाँले खोल्साहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ;
ती पर्वतका बीच भएर बग्दछन्।
तिनीहरूले मैदानका सबै जीवजन्तुलाई पानी दिन्छन्;
अनि जङ्गली गधाहरूले पनि आफ्नो तिर्खा त्यहीँ मेटाउँछन्।
आकाशका चराचुरुङ्गीहरूले त्यसकै छेउमा आफ्ना गुँड बनाउँछन्;
हाँगाहरूका बीचमा तिनीहरू गीत गाउँछन्।
उहाँले आफ्ना उच्च कक्षबाट पर्वतहरूमा पानी बर्साउनुहुन्छ;
उहाँको कामका फलबाट पृथ्वी तृप्त हुन्छ।
उहाँले गाईबस्तुका निम्ति घाँस,
र मानिसले खेतबारीमा परिश्रम गरोस् भनी बोटबिरुवा उमार्नुहुन्छ;
र जमिनबाट आहारा ल्याउनुहुन्छ।
मानिसका हृदय हर्षित पार्नलाई दाखमद्य,
त्यसको मुख चहकिलो पार्नलाई तेल,
र त्यसको हृदय बलियो तुल्याउनलाई उहाँले रोटी दिनुहुन्छ।
याहवेहका रूखहरू
र उहाँले लगाउनुभएका लेबनानका देवदारुका रूखहरूले पर्याप्त पानी पाउँछन्।
त्यहाँ चराहरूले आफ्ना गुँड लगाउँछन्;
सारसले पनि सल्लाका रूखहरूमा आफ्नो गुँड बनाउँछ।
अग्ला पर्वतहरू जङ्गली बाख्राहरूका निम्ति हुन्;
पहराहरू खरायोहरूका निम्ति शरणस्थान हुन्।
ऋतु छुट्ट्याउन उहाँले चन्द्रमा बनाउनुभयो;
सूर्यले आफ्नो अस्ताउने बेला जान्दछ।
तपाईंले अँध्यारो ल्याउनुहुन्छ, र रात पर्छ;
र सबै जङ्गली पशुहरू निस्किआउँछन्।
सिंहहरू आफ्ना शिकारका निम्ति गर्जन्छन्
र तिनीहरूले परमेश्वरबाट आफ्ना आहारा खोज्छन्।
सूर्य उदाउँदा ती जङ्गली पशुहरू गइहाल्छन्;
तिनीहरू आफ्ना ओडारमा फर्कन्छन् र आराम गर्छन्।
तब मानिसहरू आफ्ना काममा जान्छन्,
र साँझसम्म परिश्रम गर्छन्।
हे याहवेह, तपाईंले कति धेरै जीवित प्राणीहरू बनाउनुभएको छ!
ती सबै तपाईंले आफ्ना बुद्धिले बनाउनुभएको छ;
पृथ्वी तपाईंको सृष्टिले भरिपूर्ण छ।
त्यहाँ विशाल र फराकिलो समुद्र छ,
जसमा अनगन्ती जीवजन्तुहरू छन्—
साना र ठूला दुवै किसिमका जीवित प्राणीहरू त्यहाँ छन्।
त्यसमाथि जहाजहरू ओहोर-दोहोर गर्दछन्;
त्यहाँ लिव्यातन छ, जसलाई त्यहाँ खेल्नलाई तपाईंले बनाउनुभयो।
ठिक समयमा आफ्ना आहारा पाउने आशाले
तिनीहरू सबैले तपाईंको बाटो हेर्छन्।
जब तपाईंले त्यो तिनीहरूलाई दिनुहुन्छ,
तब तिनीहरूले त्यो बटुल्छन्;
जब तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,
तिनीहरू उत्तम पदार्थहरूले तृप्त हुन्छन्।
जब तपाईंले आफ्ना मुहार लुकाउनुहुन्छ,
तिनीहरू भयभीत हुन्छन्;
जब तपाईंले तिनीहरूको सास लिनुहुन्छ,
तिनीहरू मर्छन् र माटोमा फर्किजान्छन्।
जब तपाईंले आफ्नो आत्मा1 पठाउनुहुन्छ,
तब तिनीहरूको सृष्टि हुन्छ;
र तपाईंले पृथ्वीको रूपलाई नयाँ तुल्याउनुहुन्छ।
याहवेहको महिमा सदासर्वदा रहिरहोस्;
याहवेह आफ्ना कार्यहरूमा प्रसन्न होऊन्—
उहाँले पृथ्वीलाई हेर्नुहुन्छ, र त्यो थरथरी काम्दछ;
उहाँले पर्वतहरूलाई छुनुहुन्छ, र तीबाट धुवाँ निस्कन्छ।
म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु;
म बाँचुन्जेल परमेश्वरको प्रशंसा गाउनेछु।
जब म याहवेहमा आनन्दित हुन्छु;
मेरो ध्यान उहाँलाई मनपर्दो होस्।
तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्,
र दुष्टहरू रहँदै नरहून्!
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
याहवेहको प्रशंसा गर्!2
Source notes (2)
- Footnote आत्मा अथवा जीवनको सास
- Footnote मूल भाषामा हल्लेलूयाह
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.