Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

ओबदिया 1

ओबदियाको दर्शन

ओबदियाले देखेको दर्शन।

प्रभु याहवेहले एदोमको बारेमा यसो भन्‍नुहुन्छ—

हामीले याहवेहबाट एउटा सन्देश सुनेका छौँ:

एउटा राजदूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको थियो,

“उठ, हामी त्यसको विरुद्धमा लडाइँ गर्नलाई जाऔँ।”

“हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु;

तँलाई ज्यादै घृणा गरिनेछ।

तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ।

तँ चट्टानका धाँदाहरूमा बास बस्छस्,

र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्।

तैँले मनमनै आफूलाई भन्छस्,

‘मलाई भुइँमा कसले झार्न सक्छ?’

तँ चीलझैँ माथि उडेर गइस् भने पनि,

र ताराहरूका बीचमा आफ्नो गुँड बनाइस् भने पनि,

त्यहाँबाट म तँलाई तल झार्नेछु,”

याहवेह घोषणा गर्नुहुन्छ।

“यदि चोरहरू तँकहाँ आए भने,

यदि रातमा डाँकुहरू आए भने,

ओह! तँलाई कस्तो विपत्तिले पर्खिरहेको हुन्छ—

के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र?

यदि अङ्‌गुर टिप्नेहरू तँकहाँ आए भने,

के तिनीहरूले सिला-अङ्‌गुरहरू छोड्दैनन् र?

तर एसाव कसरी लुटिनेछ,

त्यसका लुकाएर राखिएका गाडधनहरू कसरी लुटिनेछ!

तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म नै खेद्नेछन्;

तेरा साथीहरूले तँलाई धोका दिनेछन्, र तँलाई अधीनमा पार्नेछन्;

जसले तेरो रोटी खान्छन्, उनीहरूले नै तेरो निम्ति पासो थाप्नेछन्;

तर तैँले यस कुराको बारेमा थाहै पाउनेछैनस्।

“त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ,

“के म एदोमका ज्ञानी मानिसहरूलाई,

एसावका पर्वतहरूमा बस्‍ने समझदार मानिसहरूलाई नाश पार्नेछैनँ र?

हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्,

र एसावका पर्वतहरूमा रहने

सबै मानिसहरू काटेर ढालिनेछन्।

तेरो भाइ याकोबको विरुद्धमा भएको

हिंसाको कारणले गर्दा तँलाई शर्मले ढाक्नेछ;

तँ सदाको निम्ति नष्‍ट पारिनेछस्।

जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्,

त्यसै बेला विदेशीहरू त्यसको ढोकाभित्र पसे;

अनि विदेशीहरूले त्यसका धनसम्पत्तिहरू खोसेर लगे

र यरूशलेमको निम्ति चिट्ठा हाले;

त्यस दिन तँ पनि तिनीहरूमध्ये एउटाजस्तै थिइस्।

तैँले आफ्नो भाइलाई

त्यसको दुर्दशाको समयमा तुच्छ ठान्‍नु हुँदैनथ्यो;

यहूदाका मानिसहरूका

सर्वनाशको दिनमा रमाउनु हुँदैनथ्यो,

र तिनीहरूका सङ्कष्‍टको दिनमा

यति धेरै घमण्ड गर्नु हुँदैनथ्यो।

तिनीहरूको विपत्तिको दिनमा

मेरा मानिसहरूका ढोकाहरूबाट पसेर तैँले खुशी मनाउनु हुँदैनथ्यो;

अनि तिनीहरूको सर्वनाशको दिनमा

तिनीहरूको दुर्दशामा तिनीहरूको अवहेलना गर्नु हुँदैनथ्यो,

न त तिनीहरूका सर्वनाशको दिनमा

तिनीहरूको धनसम्पत्ति खोसेर लैजानुहुन्थ्यो।

तैँले तिनीहरूका भाग्नेहरूलाई काटेर ढाल्न

चौबाटोमा ढुकेर बसिरहनु हुँदैनथ्यो,

न त तिनीहरूका सङ्कटको दिनमा

तिनीहरूका बाँचेकाहरूलाई पक्राइदिनु नै हुन्थ्यो।

“याहवेहको दिन

सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ।

तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ;

तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ।

जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए,

त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्।

तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्;

अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्।

तर सियोनको पर्वतमा छुटकारा हुनेछ;

यो पवित्र रहनेछ,

र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ।

याकोबको घराना आगोजस्तै हुनेछ,

र योसेफको घराना ज्वालाजस्तै हुनेछ;

एसावको घराना डाँठको ठोसाजस्तै हुनेछ;

अनि तिनीहरूले यसमा आगो लगाउनेछन्, र यसलाई भस्म पार्नेछन्।

एसावको घरानाबाट

एउटै पनि जीवित रहनेछैन।”

याहवेहले यसो भन्‍नुभएको छ।

दक्षिणका मानिसहरूले

एसावका पर्वतहरू कब्जा गर्नेछन्,

र पहाडको फेदीमा बसेका मानिसहरूले

पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्।

तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्;

अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ।

कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्,

तिनीहरूले सारपतसम्मको भूमिमाथि अधिकार गर्नेछन्;

यरूशलेमबाट लगिएका निर्वासितहरू, जो सपारादमा छन्,

तिनीहरूले दक्षिणका सहरहरूमाथि अधिकार गर्नेछन्।

छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन्

र एसावका पर्वतहरूमाथि शासन गर्नेछन्।

अनि राज्य याहवेहको हुनेछ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.