Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
नहूम 1
निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक।
निनवेको विरुद्धमा याहवेहको क्रोध
याहवेह डाही र बदला लिने परमेश्वर हुनुहुन्छ;
याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ।
याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ,
र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ।
याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ।
याहवेहले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न।
उहाँको मार्ग भुमरी र आँधीमा छ;
अनि बादलहरू उहाँका पाउको धुलो हुन्।
उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ;
उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ।
बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्,
र लेबनानका फूलहरू ओइलिन्छन्।
उहाँको सामु पर्वतहरू काँप्छन्
र पहाडहरू पग्लिएर जान्छन्।
उहाँको उपस्थितिमा पृथ्वी,
संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्।
उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र?
उहाँको भयङ्कर क्रोध कसले सहन सक्छ?
उहाँको क्रोध आगोझैँ खन्याइन्छ;
उहाँको सामु चट्टानहरू फुटेर चकनाचुर हुन्छन्।
याहवेह भलो हुनुहुन्छ,
दुःखको समयमा एक शरणस्थान।
उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ,
तर उहाँले उर्लंदो बाढीले
निनवे सहरको अन्त्य गरिदिनुहुनेछ;
उहाँले आफ्ना शत्रुहरूलाई अन्धकारमा खेद्नुहुनेछ।
तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि
उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ;
सङ्कष्ट दोस्रोपल्ट फेरि आउनेछैन।
तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्,
र तिनीहरूका दाखमद्यले मात्तिनेछन्;
तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्।
हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्ट युक्ति रच्ने,
र खराब सल्लाह दिने
एक जना निस्केर आएको छ।
याहवेह यसो भन्नुहुन्छ:
“तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि
तिनीहरू नष्ट हुनेछन् र मरेर जानेछन्।
हे यहूदा, मैले तँलाई कष्ट दिए तापनि
अब उसो म तँलाई फेरि कष्ट दिनेछैनँ।
अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु,
र तेरा साङ्लाका बन्धनहरू चुँडाइदिनेछु।”
हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ;
“तेरो वंश थाम्नलाई तेरो कोही सन्तान हुनेछैन।
म तेरा देवताहरूका मन्दिरमा भएका
तेरा प्रतिमा र मूर्तिहरूलाई नष्ट पार्नेछु।
म तेरो चिहान तयार पार्नेछु,
किनकि तँ दुष्ट छस्।”
हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने
एउटा मानिसका पाउहरू,
जसले शान्तिको प्रचार गर्दछ!
हे यहूदा, तेरा चाडहरू मना,
र आफ्ना भाकलहरू पूरा गर्।
दुष्टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्;
तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.