Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
मीका 7
इस्राएलको दुर्गति
मलाई कस्तो दुर्गति आइलागेको छ!
म दाखबारीमा ग्रीष्म ऋतुको
फल बटुल्ने मानिसजस्तै छु;
खानलाई कुनै अङ्गुरको झुप्पा नै छैन;
मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।
धर्मी मानिसहरू देशबाट नष्ट भइसकेका छन्;
धर्मी एउटै पनि बाँकी छैन।
हरेक मानिस हत्या गर्न ढुकिबस्छन्;
तिनीहरू एक-अर्कालाई पासो थाप्छन्।
दुवै हातहरू दुष्ट काम गर्न सिपालु छन्;
शासकहरूले उपहारको माग गर्छन्,
न्यायकर्ताहरू न्यायालयमा घूस लिन्छन्;
शक्तिशालीहरू आफूले इच्छा लागेअनुसारको हुकुम चलाउँछन्;
तिनीहरू सबै जना मिलेर षड्यन्त्र रच्दछन्।
तिनीहरूमा सबैभन्दा असल मानिस पनि तीखो काँडाजस्तै छ,
सबैभन्दा सोझो पनि झाडीको काँडाभन्दा खराब छ।
परमेश्वरले तिमीहरूलाई भेट गर्ने समय आएको छ;
तिमीहरूका पहरेदारहरूका चेतावनीको आवाज आएको छ।
अहिले तिमीहरूको अन्योलको समय हो।
तिमीहरू आफ्नो छिमेकीमाथि भरोसा नगर;
न त मित्रमाथि नै विश्वास गर।
आफ्नो अँगालोमा सुत्ने पत्नीसँग बोल्दासमेत
होसियार भएर बोल।
किनकि छोराले आफ्नो बुबालाई अनादर गर्छ,
छोरी आफ्नै आमाको विरुद्धमा उठ्छे;
बुहारी आफ्नै सासूको विरुद्धमा—
मानिसका शत्रुहरू आफ्नै घरका सदस्यहरू हुन्छन्।
तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु;
म मेरो उद्धारकर्ता परमेश्वरलाई पर्खन्छु;
मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
इस्राएल फेरि उठ्नेछ
हे मेरो शत्रु, मेरो खिसी नगर्!
म लडेको छु, तर पनि म खडा हुनेछु।
म अन्धकारमा छु,
तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।
किनकि मैले उहाँको विरुद्धमा पाप गरेको छु,
जबसम्म उहाँले मेरा निम्ति मुद्दा लड्नुहुन्न,
र मेरो अधिकार स्थापित गर्नुहुन्न,
तबसम्म म याहवेहको क्रोधलाई सहनेछु।
उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ;
म उहाँको धार्मिकतालाई हेर्नेछु।
त्यसपछि मेरा शत्रुले यो देख्नेछन्,
र तिनीहरू लज्जित हुनेछन्,
जसले मलाई यसो भनेकी थिई,
“याहवेह तेरो परमेश्वर कहाँ छन्?”
मेरो आँखाले त्यसको पतन देख्नेछ;
अहिले पनि त्यो गल्लीहरूमा
हिलोजस्तै खुट्टामुनि कुल्चिइन्छे।
तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन,
तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।
त्यस दिन मानिसहरू तिमीहरूकहाँ आउनेछन्;
अश्शूर र इजिप्टका सहरहरूबाट
इजिप्टदेखि लिएर यूफ्रेटिस नदिसम्मका
र टाढा-टाढाका समुद्रदेखि लिएर
टाढा-टाढाका पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्।
तिमीहरूका बासिन्दाहरूका दुष्ट कामहरूका
परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।
प्रार्थना र प्रशंसा
तपाईंका प्रजाहरूलाई आफ्नो लहुरो लिएर चराउनुहोस्;
तपाईंको उत्तराधिकारका भेडाका बगाललाई चराउनुहोस्,
जो एकलै वनमा,
कार्मेल पर्वतको मलिलो खर्कमा बस्छन्।
तिनीहरूलाई पहिलेका दिनहरूमा जस्तै
बाशान र गिलादमा गएर चर्न दिनुहोस्।
“तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै
म तिनीहरूलाई मेरा अद्भुत कार्यहरू देखाउनेछु।”
राष्ट्रहरूले देख्नेछन् र लज्जित हुनेछन्।
तिनीहरूका पूरै शक्ति काम नलाग्ने हुनेछन्।
तिनीहरूका हातहरूले आफ्ना मुख छोप्नेछन्,
र तिनीहरूका कानहरू बहिरा हुनेछन्।
तिनीहरूले सर्पले जस्तै
र जमिनमा घस्रने प्राणीहरूले जस्तै धुलो चाट्नेछन्।
तिनीहरू थरथर काम्दै आफ्ना गुफाहरूबाट निस्केर आउनेछन्;
तिनीहरू याहवेह हाम्रा परमेश्वरकहाँ डरसहित फर्कनेछन्,
र तिनीहरू उहाँसँग डराउनेछन्।
तपाईंजस्तो परमेश्वर को छ र?
जसले उहाँका उत्तराधिकारका बाँकी रहेकाहरूको पाप क्षमा गर्नुहुन्छ,
र अपराधहरू बिर्सिदिनुहुन्छ।
तपाईं सधैँभरि रिसाइरहनुहुन्न,
तर अटुट प्रेम देखाउनमा प्रसन्न हुनुहुन्छ।
तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ;
हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ;
अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
जसरी तपाईंले धेरै अगिका दिनहरूमा
हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो,
त्यसरी नै तपाईं याकोबप्रति विश्वासयोग्य रहनुहुनेछ,
र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.