Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

लूका 14

येशू एक जना फरिसीको घरमा

एक शब्बाथको दिन येशू एक जना प्रतिष्‍ठित फरिसीको घरमा भोजन गर्न जानुभएको थियो र उहाँको सावधानीपूर्वक चियो भइरहेको थियो। त्यहाँ उहाँको अगिल्तिर पेटमा पानी भरिने रोगले पीडित एक जना मानिस थियो। येशूले फरिसीहरू र व्यवस्थाका विद्वान्‌हरूलाई सोध्नुभयो, “शब्बाथको दिन निको पार्नु उचित छ कि छैन?” तर तिनीहरू चुप लागेर बसिरहे। त्यसकारण उहाँले त्यस मानिसलाई छुनुभयो र निको पार्नुभयो; अनि त्यसलाई पठाउनुभयो।

त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूमध्ये कसैको छोरा1 वा गोरु शब्बाथको दिन इनारमा खस्यो भने के तिमीहरूले झट्टै त्यसलाई निकाल्दैनौ र?” तिनीहरूले केही पनि जवाफ दिन सकेनन्।

भोजमा निम्त्याइएकाहरूले आदरको स्थान छानेका देखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्‍टान्त भन्‍नुभयो: “जब कसैले तिमीलाई विवाह भोजमा निम्तो दिन्छ, तब आदरको स्थानमा नबस; किनकि तिमीभन्दा बढी विशिष्‍ट व्यक्ति पनि त्यहाँ निम्त्याइएको हुन सक्छ। यदि त्यसो रहेछ भने तिमीहरू दुवैलाई निम्तो दिने व्यक्तिले आएर तिमीलाई भन्‍नेछ, ‘तिमी बसेको आसन उहाँलाई देऊ।’ तब तिमी लज्जित भएर सबैभन्दा तल्‍लो स्थानमा बस्‍नुपर्नेछ। तर तिमीले निम्तो पाएपछि सबैभन्दा तल्‍लो स्थानमा बस; तब निम्तो दिने व्यक्ति आएर तिमीलाई भन्‍नेछ, ‘ए मित्र, माथि सरेर राम्रो स्थानमा बस्‍नुहोस्।’ तब तिमीसँग भोजमा बस्‍नेहरू सबैका अगि तिमीलाई आदर हुनेछ। किनकि आफूलाई उच्‍च तुल्याउने हरेकलाई नम्र बनाइनेछ; र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछ।”

त्यसपछि येशूले उहाँलाई निम्तो दिने व्यक्तिलाई भन्‍नुभयो, “तिमीले दिवा अथवा रात्री भोज लगाउँदा आफ्ना मित्रहरू, दाजुभाइ, आफन्तहरू, वा आफ्ना धनी छिमेकीलाई निम्तो नदेऊ। यदि त्यसो गर्‍यौ भने तिनीहरूले पनि त्यसको साटोमा तिमीलाई निम्तो दिएर तिम्रो गुण फर्काइदिनेछन्। तर तिमीले भोज लगाउँदैछौ भने गरिबहरू, लुला-लङ्गडा, दृष्‍टिविहीनहरूलाई निम्तो देऊ, अनि तिमीले आशिष् पाउनेछौ। तिनीहरूले तिम्रो गुण फर्काइदिन नसके तापनि धर्मीहरूको पुनरुत्थान हुँदा तिमीलाई प्रतिफल मिल्नेछ।”

ठूलो भोजको दृष्‍टान्त

टेबुलमा उहाँसँग हुनेहरूमध्ये एक जनाले यी कुराहरू सुनेर येशूलाई भन्यो, “त्यो मानिस धन्य हो, जसले परमेश्‍वरको राज्यमा भोज खानेछ।”

येशूले जवाफ दिनुभयो: “कुनै एक मानिसले एउटा ठूलो भोज लगाउने तयारी गर्दैथिए, र धेरै पाहुनाहरूलाई निम्तो दिए। भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्‍न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’

“तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’

“अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’

“अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’

“सेवक फर्केर आयो र मालिकलाई यसको खबर दियो। तब घरका मालिक रिसाए, र आफ्नो सेवकलाई आज्ञा दिए, ‘झट्टै बाहिर सहरका सडक र गल्‍लीहरूमा जाऊ। अनि गरिब, कुँजा, दृष्‍टिविहीन र लुला-लङ्गडाहरूलाई यहाँ भित्र ल्याऊ।’

“त्यो सेवकले भन्यो, ‘मालिक, तपाईंले आज्ञा गर्नुभएबमोजिम काम भयो, तर धेरैका लागि ठाउँ अझै खाली छ।’

“त्यसपछि मालिकले सेवकलाई भने, ‘मूल सडक र गाउँतिर जाने गल्‍लीहरूमा जाऊ। अनि मानिसहरूलाई भित्र आउन कर गर, ताकि मेरो घर भरियोस्। म तिमीहरूलाई भन्दछु, मैले पहिले निम्ताइएकाहरूमध्ये कसैले पनि मेरो भोजको स्वाद चाख्न पाउनेछैनन्।’ ”

चेलाले चुकाउनुपर्ने मूल्य

येशूसँग मानिसहरूको ठूलो भीड साथमा जाँदैथिए, र तिनीहरूतिर फर्केर उहाँले भन्‍नुभयो: “यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन। अनि जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।

“मानौँ तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्‍यो भने त्यो सिद्ध्याउन पर्याप्‍त खर्च आफूसित छ कि छैन भनी के पहिले नै बसेर अनुमानित हिसाब गर्दैन र? यदि उसले जग बसाल्यो, तर त्यो पूरा गर्न सकेन भने त्यो देख्ने हरेकले त्यसको गिल्‍ला गर्नेछन्; अनि भन्‍नेछन्, ‘यस मानिसले बनाउन त सुरु गर्‍यो, तर पूरा गर्न सकेन।’

“अथवा मानौँ कुनै एउटा राजा अर्को राजाको विरुद्ध लडाइँ गर्न जाँदैछ भने के उसले पहिले नै बसेर आफूसँग भएका दश हजारले उसको विरुद्धमा बीस हजार लिएर आउँदैगरेको राजासँग लडाइँ गर्न सक्छु कि सक्दिनँ भनी विचार गर्दैन र? ऊ असमर्थ छ भने उसले त्यो अर्को राजा टाढा छँदा नै मिलापको प्रस्तावको लागि प्रतिनिधिहरू पठाउनेछ। त्यसै गरी तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन।

“नुन असल हो, तर यदि यसले आफ्नो नुनिलोपन हरायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? त्यो न त माटोका निम्ति, न मलका निम्ति कामलाग्दो हुन्छ, तर त्यो बाहिर फालिन्छ।

“जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!”

Source notes (1)
  1. Footnote केही प्राचीन पा.लि.हरूमा गधा भनिएको छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.