Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
लेवी 12
सुत्केरीको शुद्धीकरण
याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे। आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ। त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्। त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।
“ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्। त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे।
“ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्। यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.