Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

विलाप 5

हे याहवेह, हामीमाथि के आइपरेको छ, त्यो सम्झनुहोस्;

हेर्नुहोस्, हामी कति अपमानित भएका छौँ।

हाम्रो उत्तराधिकार अपरिचितहरूलाई

र हाम्रा घर विदेशीहरूलाई सुम्पिइएको छ।

हामी बुबाविहीन भएका छौँ;

हाम्रा आमाहरू विधवाहरूजस्ता भएका छन्।

आफ्नै पिउने पानी पनि हामीले दाम तिरेर पिउनुपर्छ;

हाम्रो आफ्नै दाउरा पनि दाम तिरेर किन्‍नुपर्छ।

हामीलाई खेद्नेहरू हाम्रा पाइलाहरूमै छन्;

हामी थाकेका छौँ र विश्राम पाएका छैनौँ।

हाम्रो पेट भर्नका लागि हामीले आफैँलाई

इजिप्ट र अश्शूरका अधीनमा सुम्पिदियौँ।

हाम्रा पितापुर्खाले पाप गरे, र मरेर गए;

तर हामीले तिनीहरूका पापको दण्ड भोगिरहेका छौँ।

दासहरूले हामीमाथि शासन गर्दछन्;

अनि तिनीहरूका हातबाट हामीलाई छुटकारा दिने कोही पनि छैन।

मरुभूमिमा तरवार भिरेका शत्रुहरू भएकोले

हामीले आफ्नो जीवनको खतरा मोलेर रोटी जुटाउँछौँ,

हामीलाई भोकले गर्दा ज्वरो आएको छ,

र हाम्रो छाला चुल्होझैँ रन्केको छ।

सियोनमा स्त्रीहरू र

यहूदाका सहरहरूमा कुमारीहरू बलात्कारको शिकार भएका छन्।

शासकहरूको हात बाँधेर तिनीहरूलाई झुण्ड्याइएको छ;

अगुवाहरूलाई अलिकति पनि इज्जत दिइएको छैन।

जवान मानिसहरू जाँतो पिँध्न बाध्य छन्;

अनि जवान केटाहरू दाउराका भारीले थिचिएर लड्बडाउँदै हिँड्छन्।

अगुवाहरू सहरका मूलढोकामा भेला हुन छोडेका छन्;

जवान केटाहरूले आफ्ना सङ्गीत छोडिदिएका छन्।

हाम्रा हृदयबाट आनन्द गइसक्यो;

हाम्रो नाच शोकमा बदली भइसक्यो।

हाम्रा शिरबाट मुकुट खसेको छ।

हामीलाई धिक्‍कार छ; किनभने हामीले पाप गरेका छौँ!

यसले गर्दा हाम्रा हृदय मूर्छित भएका छन्;

यी कुराहरूले गर्दा हाम्रा आँखा धमिला भएका छन्;

किनकि सियोन पर्वत उजाड भएको छ;

अनि त्यहाँ स्यालहरू शिकार खोज्दै यताउति घुमिहिँड्छन्।

हे याहवेह, तपाईं अनन्तकालसम्म राज्य गर्नुहुन्छ;

तपाईंको सिंहासन पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

तपाईंले हामीलाई किन सधैँ बिर्सनुहुन्छ?

तपाईंले हामीलाई किन यति लामो समयसम्म त्याग्नुहुन्छ?

यदि तपाईंले हामीलाई पूर्णतया इन्कार गर्नुभएको छैन

र तपाईं हामीसित औधी रिसाउनुभएको छैन भने,

हे याहवेह, हामीलाई तपाईंमा पुनर्स्थापित गर्नुहोस्,

र हामी तपाईंकहाँ फर्कन सकौँ;

हाम्रा दिनहरू पहिलेको जस्तै नयाँ बनाइदिनुहोस्।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.