Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
न्यायकर्ता 20
इस्राएलीहरूले बेन्यामीनीहरूसित लडाइँ गरेका
तब दानदेखि बेर्शेबासम्म र गिलाद देशबाट सबै इस्राएलीहरू एकजुट भएर मिस्पामा याहवेहको सामु भेला भए। इस्राएलका कुलहरूका सबै मानिसहरूका अगुवाहरूले परमेश्वरका मानिसहरूका सभामा आफ्नो स्थान लिए, जसमा तरवार भिरेका चार लाख योद्धा थिए। बेन्यामीनीहरूले इस्राएलीहरू मिस्पामा गएका छन् भन्ने कुरा सुने। तब इस्राएलीहरूले भने, “यस्तो भयानक काण्ड कसरी घट्यो, हामीलाई भन।”
यसकारण ती मारिएकी स्त्रीका पति लेवीले भने, “म र मेरी उपपत्नी बास बस्न बेन्यामीनको गेबामा पुग्यौँ। रातको समयमा गेबाका मानिसहरू मेरो विरोधमा उठे, र मलाई मार्ने विचारले घरलाई घेरे। तिनीहरूले मेरी उपपत्नीलाई बलात्कार गरे, तब त्यो मरी। तब मैले आफ्नी उपपत्नीको लासलाई लिएँ र टुक्रा-टुक्रा गरी काटेँ। अनि इस्राएलका उत्तराधिकारको प्रत्येक प्रान्तमा एक-एक टुक्रा पठाएँ; किनकि तिनीहरूले इस्राएलमा यस्तो अश्लील र शर्मलाग्दो काम गरे। अब तपाईं सारा इस्राएलीहरूले बोल्नुहोस्, र यसको फैसला गरिदिनुहोस्!”
तब सबै मानिसहरू एकजुट भएर यसो भन्दै उठे, “हामी कोही पनि घर जानेछैनौँ, न त हामीमध्ये कोही पनि आफ्नो घरमा जानेछौँ। तर अब हामी गेबालाई यसो गर्नेछौँः हामी चिट्ठाले निर्देशन दिएअनुसार त्यसको विरुद्धमा जानेछौँ। हामी इस्राएलका सबै कुलहरूका प्रत्येक सय मानिसबाट दश जना र हजारबाट एक सय र दश हजारबाट एक हजार गरी फौजका निम्ति चाहिने सामान तयार गर्नको निम्ति लिनेछौँ। तब फौज बेन्यामीनको गेबामा आएपछि, यसले उनीहरूलाई तिनीहरूले इस्राएलमा गरेका सबै घृणित कामका निम्ति दण्ड दिन सक्नेछ।” यसरी इस्राएलका सबै मानिसहरू त्यस सहरको विरुद्धमा एकजुट भएर भेला भए।
इस्राएलका कुलहरूले बेन्यामीनको कुलकहाँ यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूको बीचमा भएको यो डरलाग्दो अपराधचाहिँ के हो? अब गेबाका ती दुष्ट मानिसहरू हामीलाई सुम्पिदेओ, र हामी तिनीहरूलाई मारेर इस्राएलबाट दुष्टता हटाउनेछौँ।”
तर बेन्यामीनीहरूले आफ्ना सङ्गी इस्राएलीहरूका कुरा सुनेनन्। बेन्यामीनीहरूका सहरहरूबाट तिनीहरू इस्राएलीहरूसित युद्ध गर्न गेबामा भेला भए। त्यस दिन बेन्यामीनीहरूले आफ्ना सहरहरूबाट छब्बीस हजार तरवारधारी मानिस जम्मा गरे। यसबाहेक गेबामा बस्नेहरूबाट सात सय जना चुनिएका मानिसहरू पनि भेला पारे। ती सबै योद्धाहरूका बीचबाट छानिएका सात सय मानिस देब्रे-हाते थिए; जसमध्ये प्रत्येकले केशलाई समेत घुँयेत्रोले हान्दा नचुकाई निशाना लगाउँथे।
बेन्यामीनीहरू बाहेक इस्राएलीहरूले चार लाख तरवारधारी लडाकु मानिस एकत्रित गरेका थिए।
इस्राएलीहरू बेथेलमा1 उक्लेर गए, र परमेश्वरलाई यसो भनेर सोधे, “बेन्यामीनीहरूसित युद्ध गर्न हामीमध्ये कसले पहिले आक्रमण गर्ने?”
याहवेहले जवाफ दिनुभयो, “यहूदाले पहिले आक्रमण गरोस्।”
भोलिपल्ट बिहानै इस्राएलीहरू उठे, र गेबाको छेउमा छाउनी हाले। इस्राएलका मानिसहरू बेन्यामीनीहरूसित युद्ध गर्न निस्के। अनि तिनीहरूका विरुद्धमा गेबामा युद्धको मोर्चा बाँधे। अनि बेन्यामीनीहरू गेबामा निस्किआए, र त्यस दिन इस्राएलीहरूका बाइस हजार मानिसलाई लडाइँको मैदानमा मारे। तर इस्राएलका मानिसहरूले एक-अर्कालाई साहस दिए। अनि पहिलो दिनकै ठाउँमा फेरि आफ्नो मोर्चा बाँधे। इस्राएलीहरू उक्लेर गए, र याहवेहको सामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले याहवेहलाई यसो भनेर सोधे, “के हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूको विरुद्धमा युद्ध गर्न जाऔँ?”
याहवेहले जवाफ दिनुभयो, “तिनीहरूको विरुद्धमा माथि उक्लेर जाओ।”
तब इस्राएलीहरू दोस्रो दिन बेन्यामीनीहरूसित युद्ध गर्न नजिक गए। यस पटक जब बेन्यामीनीहरू तिनीहरूको विरोध गर्न गेबाबाट निस्किआए, तब तिनीहरूले तरवार भिरेका अरू अठार हजार इस्राएलीलाई मारे।
तब सबै इस्राएली र फौज बेथेलमा उक्लेर गए, र त्यहाँ तिनीहरू याहवेहको सामु बसेर रोइरहे। अनि त्यस दिन तिनीहरू साँझसम्मै उपवास बसे, तब याहवेहलाई होमबलि र मेलबलि चढाए। अनि इस्राएलीहरूले याहवेहलाई फेरि सोधे। (ती दिनहरूमा याहवेहको करारको सन्दुक बेथेलमै थियो। हारूनका छोरा, एलाजारको छोरा, पीनहास यसको सेवाको लागि चुनिएका थिए।) तिनीहरूले सोधे, “हामी फेरि हाम्रा सङ्गी इस्राएली बेन्यामीनीहरूसित युद्ध गर्न उक्लेर जाऔँ कि नजाऔँ?”
याहवेहले जवाफ दिनुभयो, “जाओ, किनकि भोलि म तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनेछु।”
तब इस्राएल गेबाको चारैतिर ढुकिबसे। तिनीहरू तेस्रो दिन बेन्यामीनीहरूको विरुद्धमा उक्लेर गए। अनि पहिलेझैँ गेबाको विरुद्धमा मोर्चा बाँधे। बेन्यामीनीहरू तिनीहरूलाई आक्रमण गर्न निस्के, र सहरदेखि अलि टाढा गए। पहिलेझैँ तिनीहरूले इस्राएलीहरूलाई मार्न थाले। प्राय: तीस जना मानिसहरू खुला मैदान र बेथेलतिर गए; अनि अर्कोचाहिँ गेबातिर जाने बाटाहरूमा मारिए। बेन्यामीनीहरूले, “हामीले पहिलेझैँ तिनीहरूलाई जितिरहेका छौँ” भनी सम्झे। तर इस्राएलीहरूले चाहिँ यसो भन्दैथिए, “हामी पछि हटौँ र तिनीहरूलाई सहरदेखि टाढा बाटोहरूमा लैजाऔँ।”
इस्राएलका सबै मानिसहरू आफ्ना ठाउँबाट उठे, र बाल-तामारमा मोर्चा बाँधे। तब इस्राएलका ढुकिबस्नेहरूले गेबाको पश्चिमको ठाउँबाट आक्रमण गरे। तब इस्राएलका सबैभन्दा असल दश हजार मानिसहरूले गेबामाथि आक्रमण गरे। युद्ध भयानक थियो। बेन्यामीनीहरूले विपत्ति यति नजिक थियो भनेर थाहै पाएनन्। तब याहवेहले बेन्यामीनीहरूलाई इस्राएलको सामु पराजित गर्नुभयो। त्यस दिन इस्राएलीहरूले पच्चीस हजार एक सय जना तरवारधारी बेन्यामीनीहरूलाई मारे। तब बेन्यामीनीहरूले आफूचाहिँ हारेको देखे।
अब इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई छोडिदिएका थिए। किनकि तिनीहरूले गेबाको छेउमा ढुकिबस्नेहरूमाथि भर परेका थिए। ती ढुकिबस्ने मानिसहरूले अचानक गेबामाथि आक्रमण गरे। अनि तिनीहरू फिँजिएर सारा सहरलाई तरवारले मारे। इस्राएलका मानिसहरूले ती ढुकुवाहरूसित तिनीहरूले सहरबाट धुवाँको ठूलो बादल पठाउने भनेर मतो गरेका थिए। त्यसपछि इस्राएलका मानिसहरू युद्धमा उत्रने भएका थिए।
बेन्यामीनीहरूले इस्राएलका मानिसहरू (प्राय: तीस जना) लाई मारेका थिए, र तिनीहरूले भने, “हामीले तिनीहरूलाई पहिलो युद्धमा झैँ जितिरहेका छौँ।” तर जब सहरबाट धुवाँको मुस्लो उठ्न थाल्यो, तब ती बेन्यामीनीहरूले फर्केर हेरे। अनि सारा सहरको धुवाँ आकाशतिर उठिरहेको देखे। तब इस्राएलका मानिसहरू तिनीहरूमाथि जाइलागे। अनि आफूमाथि विपत्ति आइपरेको थाहा पाएर बेन्यामीनका मानिसहरू आतङ्कित भए। यसकारण तिनीहरू इस्राएलीहरूको सामुबाट उजाडस्थानतिर भागे। तर तिनीहरू युद्धबाट उम्कन भने सकेनन्। अनि सहरहरूबाट आएका इस्राएलका मानिसहरूले तिनीहरूलाई त्यहीँ मारे। तिनीहरूले बेन्यामीनीहरूलाई पूरै घेरे। अनि तिनीहरूलाई सजिलैसित खेदेर पूर्वपट्टि गेबाको छेउछाउमा उछिने। अठार हजार वीर बेन्यामीनीहरू मारिए। तिनीहरू फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरातिर भाग्दा इस्राएलीहरूले बाटोमा पाँच हजार मानिसहरूलाई मारे। तिनीहरू बेन्यामीनीहरूको पछि-पछि गिदोमसम्मै लागिरहे। अनि अरू दुई हजार मानिसलाई मारे।
त्यस दिन बेन्यामीनका पच्चीस हजार वीर तरवारधारी योद्धाहरू युद्धमा मारिए। तर छ सय मानिसहरूचाहिँ फर्केर उजाडस्थानमा भएको रिम्मोनको पहरामा भागे। अनि तिनीहरू त्यहाँ चार महिनासम्म बसे। इस्राएलका मानिसहरू बेन्यामीनका सहरहरूमा फर्केर गए। अनि भेट्टाएका जति सबै पशुहरू र तिनीहरूले सम्पूर्ण सहरहरूलाई तरवारले नष्ट पारे। तिनीहरूले भेट्टाएका हरेक सहरलाई पनि आगो लगाइदिए।
Source notes (1)
- Footnote अथवा परमेश्वरको घर 26 पदमा पनि
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.