Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यहोशू 7
आकानको पाप
तर अर्पण गरिएका चीजहरूको,1 विषयमा इस्राएलीहरू विश्वासयोग्य भएनन्। यहूदा कुलको जेरहको छोरा जब्दी2 जब्दीको छोरा कर्मी, कर्मीको छोरा आकानले ती अर्पण गरिएका चीजहरूबाट केही कुरा लियो। यसकारण याहवेहको क्रोध इस्राएलीहरूमाथि दन्कियो।
यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए।
जब तिनीहरू यहोशूकहाँ फर्केर आए, तब तिनीहरूले भने, “ऐ सहरको विरुद्धमा सबै मानिसहरू नजाऊन्। त्यसलाई कब्जा गर्न दुई वा तीन हजार मानिसहरू पठाउनुहोस्। सबै मानिसहरू जाने कष्ट नदिनुहोस्; किनकि त्यहाँ थोरै मात्र मानिसहरू बस्दछन्।” यसकारण करिब तीन हजार मानिसहरू मात्र माथि गए; तर तिनीहरू ऐ सहरका मानिसहरूद्वारा पराजित भए। तिनीहरूले लगभग छत्तीस जना इस्राएलीहरूलाई मारे। तिनीहरूले इस्राएलीहरूलाई सहरको मूलढोकादेखि शबारीमसम्म लखेटे, र ओरालोमा तिनीहरूलाई हराए। यो देखेर मानिसहरूको हृदय डरले गलेर पानीजस्तै भयो।
तब यहोशूले आफ्नो वस्त्र च्याते। अनि याहवेहको सन्दुकको सामु भुइँमा घोप्टो परेर लडे। अनि साँझसम्म त्यहीँ रहिरहे। इस्राएलका प्रधानहरूले पनि त्यसै गरेर तिनीहरूका शिरहरूमा धुलो छर्के। अनि यहोशूले भने, “हाय, प्रभु याहवेह! तपाईंले यी मानिसहरूलाई एमोरीहरूको हातमा सुम्पिदिएर नष्ट पार्नलाई किन यर्दन पार गराएर ल्याउनुभयो? बरु हामी यर्दनको पारिपट्टि नै सन्तोष गरेर बसेको भए वेश हुनेथियो! हे प्रभु, अब म के भनूँ, अहिले इस्राएल आफ्ना शत्रुहरूद्वारा पराजित भएको छ? कनानी र यस देशका अरू मानिसहरूले यसबारे सुन्नेछन्, र तिनीहरूले हामीलाई चारैतिरबाट घेरेर पृथ्वीबाट हाम्रो नामनिशानै मेटिदिनेछन्। अनि त्यस बेला आफ्नो महान् नामको खातिर तपाईंले के गर्नुहुनेछ?”
याहवेहले यहोशूलाई भन्नुभयो, “उठ्! तँ किन यसरी घोप्टो परेर भुइँमा लडिरहेको छस्?” इस्राएलले पाप गरेको छ। मैले तिनीहरूलाई पालन गर्न दिएको करार भङ्ग गरेका छन्। तिनीहरूले अर्पण गरिएका चीजहरूबाट केही लिएका छन्। तिनीहरूले चोरेका छन्। तिनीहरूले झूट बोलेका छन्। तिनीहरूले ती चीजहरू आफ्नै मालसामानसँग राखेका छन्। त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनन्। तिनीहरू पिठिउँ फर्काएर भाग्छन्; किनकि तिनीहरूले आफूलाई सर्वनाशको योग्य बनाएका छन्। तिमीहरूले आफ्ना बीचबाट नष्ट हुनका निम्ति अर्पण गरिएका चीजहरूलाई नष्ट नगरेसम्म म अब उसो तिमीहरूसँग रहनेछैन।
“उठ्, गएर मानिसहरूलाई शुद्ध पार्! तिनीहरूलाई भन्, ‘भोलिको दिनको तयारीका निम्ति आफूलाई शुद्ध बनाओ’; किनकि याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएल, तिमीहरूको बीचमा अर्पण गरिएको चीज छ। तिमीहरूले त्यसलाई नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा खडा रहन सक्दैनौ।
“ ‘यसकारण बिहानै तिमीहरूले कुल-कुलअनुसार आफूलाई प्रस्तुत गर। याहवेहले छान्नुभएको कुल वंश-वंश गरी अगाडि आओस्। याहवेहले छान्नुभएको वंश परिवार-परिवार गरी अगाडि आओस्; अनि याहवेहले छान्नुभएको परिवार एक-एक जना गरी अगाडि आओस्। अर्पण गरिएका चीजहरूसँग पक्राउ पर्ने व्यक्ति, त्यससँग भएका सबै थोकसँगै आगोद्वारा नष्ट पारियोस्। त्यसले याहवेहको करार भङ्ग गरेको छ; र इस्राएलमा घृणित काम गरेको छ!’ ”
भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए। तब यहूदाका सबै कुलहरू अगाडि आए, र जेरहको वंशहरू छानिए। तिनले जेरहका वंशहरूलाई परिवार-परिवार गरी अगि आउन लगाए, र जब्दी छानिए। यहोशूले त्यसको परिवारलाई एक-एक गरी अगि आउन लगाए। अनि यहूदाको कुलको जेरहका छोरा जब्दी, त्यसका छोरा कर्मी र कर्मीका छोरा आकान पक्राउ पर्यो।
तब यहोशूले आकानलाई भने, “हे मेरो छोरा, याहवेह इस्राएलका परमेश्वरलाई महिमा दे, र उहाँको कदर गर्। तैँले जे गरिस्, त्यो मलाई भन्; मदेखि त्यो कुरा नलुका।”
आकानले जवाफ दियो, “यो कुरा सत्य हो! मैले याहवेह इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु। मैले गरेको अपराध यही हो: लुटको मालमा जब मैले बेबिलोनबाटको3 एउटा सुन्दर लवेदा, दुई सय सेकेलको4 चाँदी र पचास सेकेलको5 सुनको टुक्रा देखेँ, तब मलाई लोभ लाग्यो र मैले ती लिएँ। ती मेरो पालभित्र जमिनमुनि गाडिएका छन्। अनि चाँदीचाहिँ सबैभन्दा मुनि छ।”
यसकारण यहोशूले दूतहरू पठाए। अनि तिनीहरू दगुरेर पालमा गए। अनि त्यस पालभित्र ती लुकाइराखिएका थिए। चाँदीचाहिँ सबैभन्दा मुनि भेट्टाए। तिनीहरूले पालबाट ती चीजहरू लिएर यहोशू र सारा इस्राएलीहरूकहाँ ल्याए। अनि ती याहवेहको अगि राखिदिए।
तब यहोशू र सारा इस्राएलीहरू मिलेर जेरहको छोरा आकान, त्यससँग भएको चाँदी, लवेदा, सुनको टुक्रा, त्यसका छोराछोरीहरू, त्यसका गाईबस्तु, गधाहरू र भेडाहरू, त्यसका पाल र त्यसका सबै चीजहरूलाई आकोरको बेँसीमा ल्याए। अनि यहोशूले भने, “तैँले यो विपत्ति हामीमाथि किन ल्याइस्? याहवेहले आज तँमाथि विपत्ति ल्याउनुहुनेछ।”
त्यसपछि सारा इस्राएलीहरूले त्यसलाई ढुङ्गाले हाने। अनि तिनीहरूले अरू बाँकी रहेकाहरूलाई पनि ढुङ्गाले हानेर तिनीहरूलाई जलाइदिए। तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी6 भनिन्छ।
Source notes (6)
- Footnote अर्पण गरिएका चीजहरू परमेश्वरको निम्ति फिर्ता नपाउने गरी चढाइएको हुन्छ, जुन नाशको निम्ति हुन्छ।
- Footnote जब्दी केही प्राचीन पा.लि.हरूमा जिम्री
- Footnote बेबिलोनबाटको मूल भाषामा शिनार
- Footnote लगभग 2.3 किलो
- Footnote लगभग 575 ग्राम
- Footnote यसको अर्थ विपत्ति
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.