Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
योएल 1
पतूएलका छोरो योएलकहाँ आएको याहवेहको वचन।
सलहको आक्रमण
हे प्रधानहरू हो, यो कुरा सुन;
यस देशमा बस्ने सबैले सुन।
के तिमीहरूका समयमा
अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो?
तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन,
र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्;
अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्।
जे सलहको झुण्डले छोडेको थियो,
ती ठूला सलहहरूले खाइदिए;
जे ठूला सलहहरूले छोडेका थिए,
ती साना सलहहरूले खाइदिए;
जे साना सलहहरूले छोडेका थिए,
ती अरू सलहहरूले1 खाइदिए।
जाग, हे मतवालाहरू हो, र रोओ!
हे सबै मद्य पिउनेहरू हो, विलाप गर;
नयाँ मद्यको कारण विलौना गर;
किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।
एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ,
जसका अनगन्ती शक्तिशाली सेना छन्;
तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्;
तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।
त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ,
र मेरा नेभाराका रूखहरू नष्ट गरेको छ।
त्यसले हाँगाहरूलाई लाछेको छ,
र बोक्राहरू लाछेर फ्याँकिदिएको छ;
हाँगाहरूलाई सेतै पारिदिएको छ।
आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति,
शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।
याहवेहको भवनबाट
अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
याहवेहको सामु सेवा गर्ने
पुजारीहरू शोक गरिरहेका छन्।
खेतहरू ध्वस्त पारिएका छन्,
र जमिन सुक्खा भएको छ;
अन्न नष्ट भएको छ,
नयाँ दाखमद्य सुकेको छ;
अनि जैतुनको तेल समाप्त भएको छ।
हे किसानहरू हो, निराश होओ।
दाखबारीका किसानहरू, विलौना गर;
गहुँ र जौको निम्ति शोक गर;
किनकि खेतबारीको फसल नष्ट भएको छ।
दाखको बोट सुकेको छ,
र नेभाराको रूख ओइलाएको छ;
अनार, खजूर र स्याउका रूखहरू,
खेतबारीका सबै रूखहरू सुकेका छन्।
निश्चय नै मानिसको
आनन्दको अन्त्य भएको छ।
पश्चात्तापको निम्ति आह्वान
हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर;
हे वेदीका सेवकहरू हो, विलौना गर।
तिमीहरू जसले मेरा परमेश्वरको अगि सेवा गर्छौ,
आओ, भाङ्ग्रा लगाएर रात कटाओ;
किनकि याहवेहको भवनबाट
अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
पवित्र उपवासको घोषणा गर;
पवित्र सभाको घोषणा गर।
अगुवाहरूलाई बोलाओ
र यस देशमा बस्नेहरू सबैलाई
तिमीहरूका परमेश्वर याहवेहको भवनमा ल्याओ,
र याहवेहलाई पुकार।
हाय! त्यो दिन,
किनकि याहवेहको दिन नजिक छ;
त्यो दिन सर्वशक्तिमान् परमेश्वरबाट विनाशझैँ आउनेछ।
के हाम्रा आँखाकै सामु
खानाहरू नष्ट गरिएको छैन र?
आनन्द र हर्ष
परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
माटोका डल्लामुनि नै
बिउहरू चाउरिएका छन्।
भण्डारहरू उजाड भएका छन्,
र अन्नका ढुकुटीहरू तोडिएका छन्;
किनकि अन्न सुकेको छ।
कष्टले पशुप्राणीहरू कराउँदैछन्!
गाईबस्तुका बथानहरू विचलित भएका छन्;
किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन;
भेडाहरूका बगालले समेत कष्ट भोगिरहेका छन्।
हे याहवेह, म तपाईंलाई पुकार्छु;
किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ,
र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ।
जङ्गली जनावरहरू समेतले तपाईंलाई गुहार्छन्;
किनकि पानीका खोलाहरू सुकेका छन्,
र आगोले उजाडस्थानका खर्कहरूलाई भस्म पारेको छ।
Source notes (1)
- Footnote यहाँ सलहका निम्ति प्रयोग गरिएका चार हिब्रू शब्दहरूको सही अर्थ के हो भन्ने निश्चित छैन।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.