Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
इयोब 5
“यदि तपाईं चाहनुहुन्छ भने एक चोटि पुकारेर हेर्नुहोस्, तर तपाईंलाई कसले जवाफ देला र?
तपाईं कुनचाहिँ पवित्र जनकहाँ फर्कनुहुन्छ?
रिसले मूर्खलाई मार्छ,
र डाहले सोझा मानिसलाई मार्छ।
म आफैँले मूर्खले जरा गाडेको देखेको छु,
तर अचानक त्यसको घर श्रापित भयो।
त्यसका छोराछोरीहरू असुरक्षित छन्;
अदालतमा तिनीहरूलाई छुटाउनेवाला कोही नभएर पेलिएका छन्।
त्यसको अन्नबारी भोकाएका मानिसहरूले खाइदिन्छन्,
काँडाहरूका बीचबाट पनि निकालेर लगिदिन्छन्;
र लोभीले त्यसको धन हडप्ने लालसा गर्छ।
किनकि कठिनाइ माटोबाट उम्रँदैन,
न त विपत्ति भुइँबाट पलाउँछ।
तरै पनि आगोको झिल्का माथि उडेझैँ
मानिस विपत्तिकै निम्ति जन्मन्छ।
“तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्वरलाई बिन्ती चढाउनेथिएँ;
मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ।
परमेश्वरले हामीले बुझ्नै नसकिने अद्भुत कार्यहरू,
गन्नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ,
उहाँले पृथ्वीको लागि वर्षा पठाउनुहुन्छ;
उहाँले खेतबारीमा पानी पठाउनुहुन्छ।
उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ,
र विलाप गर्नेहरूलाई सुरक्षामा उठाउनुहुन्छ।
उहाँले धूर्तहरूका युक्तिलाई विफल पार्नुहुन्छ,
ताकि तिनीहरूका हातले सफलता नपाऊन्।
उहाँले बुद्धिमान्लाई त्यसकै धूर्ततामा पक्रनुहुन्छ;
र बठ्याइँ गर्नेहरूका योजनाहरूको चाँडै अन्त्य हुन्छ।
तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्नेछ;
मध्यदिनमै तिनीहरू रातमा झैँ छामछाम-छुमछुम गरी हिँड्छन्।
उहाँले खाँचोमा परेकाहरूलाई तिनीहरूका मुखमा भएको तरवारबाट बचाउनुहुन्छ;
उहाँले तिनीहरूलाई शक्तिशालीहरूका पञ्जाबाट बचाउनुहुन्छ।
त्यसकारण गरिबको निम्ति आशा छ;
र अन्यायले आफ्नो मुख बन्द गर्छ।
“धन्यको हो त्यो मानिस, जसलाई परमेश्वरले सुधार गर्नुहुन्छ;
यसकारण सर्वशक्तिमान् परमेश्वरको अनुशासनलाई तिरस्कार नगर्नुहोस्।
किनकि उहाँले घाउ पार्नुहुन्छ, तर उहाँले नै मलमपट्टी बाँध्नु पनि हुन्छ;
उहाँले चोट पार्नुहुन्छ, तर उहाँको हातले निको पनि पार्नुहुन्छ।
उहाँले तपाईंलाई छ वटा विपत्तिहरूबाट छुटाउनुहुनेछ;
सातौँ विपत्तिले समेत तपाईंलाई छुनेछैन।
उहाँले तपाईंलाई अनिकालमा मृत्युबाट,
र युद्धमा तरवारको प्रहारबाट बचाउनुहुनेछ।
तपाईं जिब्रोको प्रहारबाट जोगाइनुहुनेछ,
र विनाश आउँदा पनि डराउनुपर्नेछैन।
तपाईं विनाश र अनिकालमा हास्नुहुनेछैन;
र जङ्गली जनावरहरूसँग पनि डराउनुपर्नेछैन।
किनकि खेतका ढुङ्गाहरूसँग पनि तपाईंको करार बाँधिनेछ;
र जङ्गली जनावरहरू तपाईंसँग मेलमिलापमा रहनेछन्।
तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ;
तपाईंले आफ्नो सम्पत्तिको हिसाब लिनुहुनेछैन,
र त्यस सम्पत्तिबाट केही पनि चीज हराएको भेट्टाउनुहुनेछैन।
तपाईंका छोराछोरी धेरै हुनेछन्,
र तपाईंका सन्तानहरू पृथ्वीका घाँसजस्तै हुनेछन् भनी तपाईंले थाहा पाउनुहुनेछ।
ठिक ऋतुमा बाली बटुलेझैँ,
तपाईं चिहानमा जाँदा पूरा बुढेसकालमा लगिनुहुनेछ।
“हामीले यी कुरा जाँचेका छौँ, र यो सत्य हो।
यसैले यो कुरा सुन्नुहोस् र आफैँमा यो लागू गर्नुहोस्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.