Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 3

इयोबको संवाद

त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्‍कार्न थाले। तिनले भने:

“म जन्मेको त्यो दिनलाई धिक्‍कार होस्!

र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यो रात पनि मेटिओस्!

त्यो दिन अन्धकारमा परिणत होस्;

उच्‍चमा हुनुहुने परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्;

न त त्यो दिनमाथि कुनै ज्योति चम्कियोस्।

त्यो दिनलाई अँध्यारो र निस्पट्ट अन्धकारले एक पटक फेरि कब्जा गरोस्;

त्यो दिनमाथि बादल छाओस्;

र घोर अन्धकारले भयभीत पारोस्।

त्यो रात निस्पट्ट अँध्यारोले त्यसलाई छोपोस्;

त्यो दिन, त्यस वर्षका दिनहरूका गन्तीमा नआओस्;

न त त्यो दिन कुनै महिनामा आओस्।

त्यो रात बाँझो होस्;

त्यो रातमा कुनै आनन्दको सोर नसुनियोस्।

दिनलाई सराप्नेहरूले, लिव्यातनलाई1 उठाउनेहरूले समेत

त्यो दिनलाई धिक्‍कारून्।

त्यसका बिहानीका ताराहरू अँध्यारो होऊन्;

त्यसको ज्योति देख्ने पर्खाइ व्यर्थ होस्।

र मिरमिरेको पहिलो किरण देख्न नपाओस्;

किनभने त्यो रातले मेरी आमाको गर्भका ढोकाहरू मेरा निम्ति बन्द गरेन,

न त त्यसले मेरा आँखाहरूबाट दुःख नै लुकायो।

“किन म जन्मँदै मरिनँ,

अनि किन म गर्भदेखि निस्कँदा-किस्किँदै मरिनँ?

किन म जन्मँदा मलाई स्वागत गर्ने घुँडाहरू,

र मलाई दूधपान गराउने स्तनहरू थिए?

नत्रता म अहिले शान्तिमा ढल्किरहेको हुनेथिएँ;

म सुतेको अवस्थामा विश्राम पाउँथेँ।

पृथ्वीका राजाहरू र राजाका सल्‍लाहकारहरूसँग,

जसले आफ्ना निम्ति महान् भवनहरू निर्माण गरे, जो अहिले भत्किएका अवस्थामा छन्;

सुन भएका भारदारहरूसँग,

जसले आफ्ना घरहरू चाँदीले भरेका छन्।

अथवा नजन्मँदै मरेको बालकजस्तै म किन गाडिनँ,

अथवा ज्योति देख्न नपाउँदै तुहिएका ती शिशुहरूजस्तै किन भइनँ?

दुष्‍ट मानिसहरू पनि चिहानमा दुष्‍ट्याइँ गर्न छोड्छन्;

र त्यहाँ थकितहरूले विश्राम पाउँछन्।

त्यहाँ कैदीहरू पनि तिनीहरूको सुखमा रमाउँछन्;

न त दासहरूले फेरि हाकिमहरूका सोर सुन्छन्।

साना र ठूला मानिसहरू त्यहाँ हुन्छन्;

अनि दासहरू पनि आफ्ना मालिकहरूबाट त्यहाँ मुक्त हुन्छन्।

“किन कष्‍टमा भएकाहरूलाई ज्योति,

र हृदयमा विरक्त भएकाहरूलाई जीवन दिइन्छ?

जो मर्न चाहन्छन्, तर मृत्यु आउँदैन;

जसले मृत्युलाई गाडधनभन्दा बढी खोजी गर्छन्,

तिनीहरू मृत्यु आउँदा आनन्दले भरिन्छन्;

अनि चिहानमा पुग्दा खूबै रमाउँछन्।

मानिसलाई जीवन किन दिइन्छ?

जसको मार्ग लुकिएको छ,

जसलाई परमेश्‍वरले दुःखको घेरा भित्र राख्नुभएको छ।

किनकि मेरा निम्ति प्रत्येक दिनको भोजन सुस्केरा भएको छ;

मेरा चीत्कारहरू पानीजस्तै बग्दछन्।

म जेसँग डराउँथे, त्यही कुरा ममाथि आइपरेको छ;

अनि जुन कुरादेखि म भयभीत हुन्थेँ, त्यही नै भएको छ।

न मलाई शान्ति छ, न त सुख नै छ;

मेरा निम्ति आराम छैन, तर दुःख-कष्‍ट मात्र छ।”

Source notes (1)
  1. Footnote यो कस्तो प्रकारको प्राणी हो भन्‍ने विषयमा विवाद छ। यो एक जलचर प्राणी हो भनी मानिन्छ, र प्राचीन साहित्यमा एक काल्पनिक सामुन्द्रिक अजिङ्गर हो।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.