Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 24

“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन?

किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?

मानिसहरू जमिनका सिमानाका ढुङ्गाहरू हटाउँछन्;

तिनीहरूले चोरेका भेडाबाख्राका बगालहरू चराउँछन्।

तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्,

र विधवाको गोरु बन्धकमा लैजान्छन्,

तिनीहरूले खाँचोमा परेकोलाई बाटोबाट घचेटिदिन्छन्;

र देशका सबै गरिबहरूलाई लुक्न बाध्य बनाउँछन्।

मरुभूमिमा भएका जङ्गली गधाहरूजस्तै,

गरिबहरू आफ्नो भोजन खोज्न भौँतारिन्छन्;

तिनीहरूका छोराछोरीहरूका निम्ति रुखो भूमिले भोजन जुटाइदिन्छ।

तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्,

र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।

लुगाफाटाको अभावमा तिनीहरूले नाङ्गै रात बिताउँछन्;

जाडोमा आफूलाई ढाक्नको निम्ति तिनीहरूसँग केही हुँदैन।

तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्,

र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।

अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ;

गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।

लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्;

तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।

तिनीहरूले खेतका गराहरूमा1 जैतुन पेलेर तेल निकाल्छन्;

तिनीहरूले कोलमा दाख पेलेर रस निकाल्छन्, तर आफैँ भने तिर्खाले व्याकुल भएका हुन्छन्।

मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ,

र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ;

तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।

“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्,

जसले ज्योतिका मार्गहरू जान्दैनन्,

अथवा ज्योतिको मार्गमा रहँदैनन्।

जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्;

तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्,

र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।

व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ;

त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’

र त्यसले आफ्नो अनुहार लुकाउँछ।

रातमा चोरहरूले घरहरू फोर्छन्,

तर दिनमा चाहिँ तिनीहरू भित्रै लुकेर बस्छन्;

तिनीहरू दिनको उज्यालोमा केही गर्न चाहँदैनन्।

तिनीहरू सबैका लागि मध्यरात तिनीहरूको बिहानी हो;

तिनीहरूले अन्धकारका त्रासहरूसँग मित्रता राख्छन्।

“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्;

तिनीहरूको जमिनको भाग श्रापित छ;

त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।

गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ,

चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।

गर्भले तिनीहरूलाई भूलिहाल्छ;

किराले तिनीहरूमाथि भोज गर्छन्;

दुष्‍ट मानिसहरूको सम्झना रहँदैन,

र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।

तिनीहरूले बाँझी र निःसन्तान स्त्रीलाई शिकार बनाउँछन्,

र विधवालाई कुनै दया देखाउँदैनन्।

तर परमेश्‍वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ;

तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्‍चयता हुँदैन।

उहाँले तिनीहरूलाई सुरक्षाको भावनामा जिउन दिनुहुन्छ होला,

तर उहाँका आँखाहरू तिनीहरूका मार्गहरूमाथि लागिरहन्छन्।

केही क्षणको निम्ति तिनीहरू उच्‍च पारिनेछन्, र त्यसपछि तिनीहरू रहनेछैनन्;

तिनीहरूलाई होच्याइनेछ, र अरू सबैलाई जस्तै जम्मा गरिनेछ;

तिनीहरू अन्‍नका बालाहरू काटिएजस्तै काटिनेछन्।

“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ,

र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”

Source notes (1)
  1. Footnote मूल भाषामा यसको अर्थ अनिश्‍चित छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.