Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 2

फेरि अर्को दिन स्वर्गदूतहरू1 आफूलाई याहवेहको सामु उपस्थित गराउन आए, र शैतान पनि तिनीहरूसँगै आफूलाई उहाँको सामु उपस्थित गराउन आयो। याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आएको होस्?”

शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”

तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; ऊजस्तो निर्दोष र धर्मी, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि अलग रहने, अर्को मानिस छँदैछैन। अझै पनि ऊ आफ्नो सत्यनिष्‍ठामा रहिरहेको छ। यद्यपि कारणविना उसलाई नाश गर्नलाई तैँले उसको विरुद्धमा मलाई उक्साइस्।”

अनि शैतानले जवाफ दियो, “छालाको साटो छाला! मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सबै थोक दिनेछ। तर अब तपाईंले आफ्नो हात पसारेर त्यसको शरीर र हड्डीमा प्रहार गर्नुहोस्, तब निश्‍चय नै त्यसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”

याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”

तब शैतान याहवेहको सामुबाट निस्केर गइहाल्यो, र त्यसले इयोबको शिरको थाप्लोदेखि खुट्टाको पैतालासम्मै पीडादायी घाउखटिराहरूले प्रहार गर्‍यो। त्यसपछि इयोबले फुटेको भाँडाको एउटा खपटो लिए; अनि आफूलाई कन्याउँदै खरानीको थुप्रोमा बसे।

यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो सत्यनिष्‍ठामा अडिरहनुहुन्छ? बरु परमेश्‍वरलाई सराप्नुहोस् र मर्नुहोस्!”

तर तिनले यसो भने, “तिमी एउटी मूर्ख स्त्रीजस्तै2 कुरा गरिरहेकी छौ। के हामीले परमेश्‍वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?”

यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।

जब इयोबका तीन मित्र एलीपज तेमानी, बिल्दद शुही र सोपर नमातीले तिनीमाथि आएका सबै विपत्तिको बारेमा सुने; तब तिनीहरू एकसाथ भेला भई तिनलाई सहानुभूति देखाउन र सान्त्वना दिन आ-आफ्ना घरबाट निस्के। जब तिनीहरूले इयोबलाई टाढैबाट देखे, तिनीहरूले तिनलाई चिन्‍नै सकेनन्; तब तिनीहरू चर्को सोरमा रुन थाले, र आ-आफ्ना लबेदा च्याते, र तिनीहरूले आफ्नो शिरमाथि खरानीको धुलो छर्के। तब तिनीहरू सात दिन र सात रातसम्म इयोबसँगै भुइँमा बसे। तिनीहरूमध्ये कसैले तिनीसित एक शब्द पनि बोलेनन्; किनकि तिनले साह्रै ठूलो पीडा भोगिरहेको तिनीहरूले देखे।

Source notes (2)
  1. Footnote मूल भाषामा परमेश्‍वरका पुत्रहरू
  2. Footnote मूल भाषामा परमेश्‍वरमा भरोसा नगर्ने स्त्री

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.