Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 15

एलीपजको संवाद

तब एलीपज तेमानीले जवाफ दिए:

“के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ,

अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र?

के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र

मूल्यहीन कुराहरूसँग बहस गर्छन् र?

तर तपाईंले त परमेश्‍वरको सम्मानलाई नै त्याग्नुहुन्छ,

र उहाँको भक्तिलाई बाधा पुर्‍याउनुहुन्छ।

तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ;

तपाईंले धूर्त जिब्रो रुचाउनुहुन्छ।

तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन;

तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।

“के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ?

के तपाईं पहाडहरूभन्दा पहिले सृष्‍टि गरिनुभएको थियो?

के तपाईंले परमेश्‍वरको सभामा बसेर सुन्‍नुभएको छ?

के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ?

हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्‍नुहुन्छ?

हामीसँग नभएको कस्तो अन्तर्ज्ञान तपाईंसँग छ?

तपाईंका पिताभन्दा वृद्ध मानिस,

केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्।

परमेश्‍वरको सान्त्वना,

तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्‍त छैनन् र?

तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ?

अनि तपाईंका आँखाहरूमा किन क्रोधको ज्वाला छन्?

त्यसैले तपाईं आफ्नो रिस परमेश्‍वरको विरुद्ध भड्काउनुहुन्छ

र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ?

“मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्,

अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्?

यदि परमेश्‍वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने,

यदि उहाँको दृष्‍टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने,

झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्,

जसले दुष्‍टतालाई पानीझैँ पिउँछन्!

“मेरो कुरा सुन्‍नुहोस् र म तपाईंलाई बयान गर्नेछु;

मैले जे देखेको छु, तपाईंलाई भन्‍न दिनुहोस्,

बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्,

तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्,

(जसलाई मात्रै देश दिइएको थियो,

जबकि कुनै परदेशीहरूले तिनीहरूका बीचमा बसोबास गरेनन्।)

दुष्‍ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ,

निर्दयी मानिसका निम्ति वर्षौँसम्म दुःख साँचिएको हुन्छ।

त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्;

जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्।

त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन;

किनकि त्यो तरवारको निशानामा हुन्छ।

त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ;

त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ।

कष्‍ट र वेदनाले त्यसलाई तर्साउँछ;

आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ;

किनकि त्यसले आफ्नो मुड्की परमेश्‍वरको विरुद्धमा बढाउँछ,

र त्यसले सर्वशक्तिमान्‌को विरुद्ध जोरी खोज्छ,

आफ्नो मोटो र बलियो ढाल लिएर

परमेश्‍वरको विरुद्धमा जाइलाग्छ।

“त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि

र त्यसको कम्मर मासुले भरिएको भए तापनि

त्यो भत्किएका सहरहरूमा बास बस्‍नेछ,

ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्,

जहाँ कोही पनि बास गर्दैनन्।

त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन,

न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ।

त्यो अन्धकारबाट उम्कन सक्दैन;

त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ,

र परमेश्‍वरको मुखको सासले त्यसलाई उडाउनेछ।

त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्;

किनकि त्यसको साटोमा त्यसले केही पनि पाउनेछैन।

त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ,

र त्यसका हाँगाहरू फस्टाउने छैनन्।

त्यो त नपाकिकनै झरेको अङ्‌गुरजस्तै हुनेछ,

र फूल झरेको जैतुनको रूखजस्तै हुनेछ।

किनकि परमेश्‍वर नमान्‍नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्,

र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्।

तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्‍टता जन्माउँछन्;

तिनीहरूका गर्भले छल रच्तछन्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.