Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 12

इयोबको संवाद

तब इयोबले जवाफ दिएर भने:

“निस्सन्देह, तपाईंहरू मात्र सबै कुरा जान्‍ने मानिसहरू हुनुहुन्छ,

र बुद्धि तपाईंहरूसँगै मर्नेछ!

तर तपाईंहरूसँग भएझैँ मसँग पनि समझ छ;

म पनि तपाईंहरूभन्दा कमको छैनँ।

यी सबै कुरा कसले जान्दैन र?

“यद्यपि मैले परमेश्‍वरलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो—

तर पनि म आफ्ना साथीहरूको निम्ति एउटा हाँसोको पात्र बनेको छु,

धर्मी र निर्दोष मानिस त एउटा हाँसोको पात्र पो बनिँदो रहेछ!

सुखी मानिसहरूले दुःखमा पर्नेहरूलाई उपहास गर्छन्;

र खुट्टा चिप्लनेहरूका खुट्टा तान्‍ने गर्छन्।

परमेश्‍वर तिनीहरूकै हातमा भएझैँ,

चोरहरू घरमा शान्तिसँग बस्दछन्,

र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित छन्।

“तर जनावरहरूलाई सोध्नुहोस्, र तिनीहरूले तपाईंहरूलाई सिकाइदिनेछन्;

अथवा आकाशका चराचुरुङ्गीहरूलाई पनि सोध्नुहोस्,

तिनीहरूले तपाईंहरूलाई बताइदिनेछन्;

अथवा पृथ्वीसँग बोल्नुहोस्, र त्यसले तपाईंहरूलाई सिकाउनेछ;

अथवा समुद्रका माछाहरूले तपाईंहरूलाई बताइदेऊन्।

यी सबै कुरा याहवेहकै हातले गरेका हुन् भनी

यीमध्ये कसलाई थाहा छैन र?

हरेक प्राणीको जीवन र

सबै मानव-जातिको सास उहाँकै हातमा छ।

जिब्रोले भोजनको स्वाद चाखेजस्तै

के कानले शब्दहरूको जाँच गर्दैन र?

के बुढापाकाहरूका बीचमा बुद्धि पाइँदैन र?

के जीवनको दीर्घायुले समझ ल्याउँदैन र?

“बुद्धि र शक्ति परमेश्‍वरका हुन्;

परामर्श र समझशक्ति उहाँकै हुन्।

उहाँले भत्काउनुभएको कुरालाई फेरि बनाउन सकिँदैन;

उहाँले कैद गर्नुभएकोलाई कसैले छुटाउन सक्दैन।

यदि उहाँले पानीलाई रोक्नुभयो भने खडेरी पर्छ;

यदि उहाँले पानीलाई छोडिदिनुभयो भने त्यसले जमिनलाई विध्वंस पार्छ।

शक्ति र बुद्धि परमेश्‍वरका हुन्;

धोका दिने र धोका खाने दुवै उहाँकै हुन्।

उहाँले शासकहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ।

र न्यायकर्ताहरूलाई मूर्ख बनाउनुहुन्छ।

उहाँले राजाहरूद्वारा बाँधिएका बन्धनहरूलाई फुकाइदिनुहुन्छ

र तिनीहरूका कम्मरमा पेटी बाँधिदिनुहुन्छ।

उहाँले पुजारीहरूलाई नाङ्गो खुट्टा हिँडाउनुहुन्छ

र धेरै अगाडिदेखि अधिकार गर्ने शासकहरूलाई खसालिदिनुहुन्छ।

उहाँले भरपर्दा सल्‍लाहकारहरूको ओठलाई चुप गराइदिनुहुन्छ,

र प्रधानहरूका अन्तर्दृष्‍टिलाई हटाइदिनुहुन्छ।

उहाँले भारदारहरूमाथि अपमान खन्याउनुहुन्छ

र शक्तिशालीहरूलाई निःशस्त्र तुल्याउनुहुन्छ।

उहाँले अन्धकारमा भएका गहिरा कुराहरूलाई प्रकट गर्नुहुन्छ,

र घोर अन्धकारलाई ज्योतिमा ल्याउनुहुन्छ।

उहाँले राष्ट्रहरूलाई महान् बनाउनुहुन्छ, र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ;

उहाँले राष्ट्रहरूलाई बढाउनुहुन्छ, र तिनीहरूलाई तितरबितर पनि पार्नुहुन्छ।

उहाँले पृथ्वीका शासकहरूबाट तिनीहरूका समझशक्ति खोस्‍नुहुन्छ;

तिनीहरूलाई बाटो नभएको बिरानो ठाउँमा भौँतारिने बनाउनुहुन्छ।

तिनीहरू उज्यालो नभएको अँध्यारोमा छामछाम-छुमछुम गरिहिँड्छन्;

उहाँले तिनीहरूलाई मातेको मानिसजस्तै धरमरिँदै हिँड्ने बनाउनुहुन्छ।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.