Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 11

सोपरको संवाद

त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए:

“के यी सबै कुराहरूका जवाफ छैन र?

के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र?

के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र?

के तपाईंले गिल्‍ला गर्दा कसैले तपाईंलाई नहप्काउनु र?

तपाईंले परमेश्‍वरलाई भन्‍नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ,

र तपाईंको दृष्‍टिमा म शुद्ध छु।’

अहो, यदि परमेश्‍वर बोल्नुहुने भए,

उहाँले आफ्ना ओठ तपाईंको विरुद्धमा खोल्नुहुन्थ्यो,

अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो;

किनकि साँचो बुद्धिका दुई पक्ष हुन्छन्।

यो कुरा बुझिराख्नुहोस्; परमेश्‍वरले तपाईंका केही पापहरू बिर्सिसक्नुभएको छ।

“के तपाईंले परमेश्‍वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ?

के तपाईंले सर्वशक्तिमान्‌को सीमाको जाँच गर्न सक्नुहुन्छ?

ती स्वर्गभन्दा उच्‍च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र?

ती पातालभन्दा गहिरा छन्; तपाईंले के पो जान्‍न सक्नुहुन्छ र?

तिनीहरूका नाप पृथ्वीभन्दा लामा

र समुद्रभन्दा फराकिला छन्।

“यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने,

र अदालतमा मुद्दाको लागि बोलाउनुभयो भने कसले उहाँको विरोध गर्न सक्छ र?

निश्‍चय नै उहाँले छली मानिसहरूलाई चिन्‍नुहुन्छ;

र उहाँले दुष्‍टता देख्नुहुँदा, के उहाँले ख्यालै गर्नुहुन्‍न र?

जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन,

त्यसरी नै मूर्ख मानिस कहिल्यै बुद्धिमान् हुन सक्दैन।

“तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने,

र तपाईंका हातहरू उहाँतिर पसार्नुभयो भने,

यदि तपाईंका हातका अधर्मलाई त्यागिदिनुभयो,

र तपाईंको पालमा दुष्‍टतालाई कुनै ठाउँ दिनुभएन भने,

तब तपाईंले निःसंकोच आफ्नो अनुहार उठाउनुहुनेछ;

तपाईं दह्रिलो भई खडा हुनुहुनेछ, र डराउनुहुने छैन।

निश्‍चय नै तपाईंले आफ्नो दुःखलाई

बगेर गएको पानीजस्तो ठानी बिसर्नुहुनेछ।

तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ;

र अन्धकारचाहिँ बिहानजस्तै हुनेछ।

अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ;

हो, तपाईं ढुक्‍क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ।

तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन;

र धेरैले तपाईंको निगाह चाहनेछन्।

तर दुष्‍टहरूका आँखा कमजोर हुनेछन्;

र तिनीहरूले उम्कने बाटो पाउनेछैनन्;

अन्तिम सास लिनु नै तिनीहरूको आशा हुनेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.