Skip to content
BibleKenya

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

इयोब 10

“म यो जीवनदेखि विरक्तिएको छु;

यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु;

र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।

म परमेश्‍वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस्

तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्‍नुहोस्।

मलाई सताएर,

आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र?

जबकि तपाईं दुष्‍टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?

के तपाईंका आँखाहरू मानिसका जस्ता छन्?

के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?

के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र?

अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?

तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ,

र मेरा पापहरू खोतल्नुहुन्छ?

यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्‍नुहुन्छ,

र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।

“तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो।

के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?

सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो;

के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?

के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको,

अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?

तपाईंले मलाई छाला र मासु पहिराउनुभई,

अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्‍नुभएको होइन र?

तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ;

र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।

“तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो;

र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:

यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो;

र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।

यदि म दोषी छु भने मलाई धिक्‍कार होस्!

म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ;

किनकि म शर्ममा परेको छु,

अनि आफ्नो दुःखमा डुबेको छु।

यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ;

र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।

तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ,

र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ;

तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।

“मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो

भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो?

कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।

यदि म अस्तित्वमै नआएको भए हुनेथियो,

अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!

के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र?

मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।

मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि;

जहाँ अन्धकार र घोर अन्धकार छ।

घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्,

जहाँ अन्धकार र अस्तव्यस्त छ,

जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.