Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
यर्मिया 47
पलिश्तीको बारेमा सन्देश
फारोले गाजा सहरमाथि आक्रमण गर्नुअगि पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो:
याहवेह यसो भन्नुहुन्छ:
“हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्;
तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्।
त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई
सहरहरू र त्यसमा बस्नेहरू सबैलाई डुबाउनेछ।
मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्;
देशमा बस्नेहरू सबै विलाप गर्नेछन्,
दौडिरहेका घोडाहरूका खुरहरूको आवाजमा
वेगसित दगुर्ने शत्रुहरूका
रथहरूका चक्काका गडगडाहट सुनेर
आमाबुबाहरू आफ्ना छोराछोरीलाई सहायता गर्न फर्केर हेर्नेछैनन्;
तिनीहरूका हातहरू लुला हुनेछन्।
किनकि सबै पलिश्तीहरूलाई
नाश गर्ने दिन आएको छ,
टायर र सीदोनलाई सहायता दिन सक्ने
बाँचेकाहरू सबैलाई नष्ट गर्ने दिन आएको छ।
याहवेहले कप्तोरका1 किनारमा
बाँकी रहेका सबै पलिश्तीहरूलाई नष्ट गर्न लाग्नुभएको छ।
गाजाले शोकमा आफ्नो कपाल खौरनेछ;
अश्कलोन मौन हुनेछ।
हे तराईका अवशेष हो,
तँ कहिलेसम्म आफूलाई चोट पारिरहन्छस्?”
रुँदै तैँले भन्नेछस्,
“ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्?
ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा,
र शान्तसँग बस्।’
तर यो कसरी शान्त बस्न सक्छ?
किनकि याहवेहले यसलाई
अश्कलोन र समुद्री किनारको विरोधमा
आक्रमण गर्न आदेश दिनुभएको छ।”
Source notes (1)
- Footnote अर्थात्, क्रेट
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण. Copyright © 1998, 2006, 2021, 2024 Biblica, Inc. Licensed under CC BY-SA 4.0. ” Notice of copyright must appear on the title or copyright page of the work as follows: [Technology consultant will insert copyright and trademark statements from above. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY-SA 4.0 · SourceEdition imported 2026-10-25.